समानुपातिकमा २० लाख मत ल्याउने अध्यक्ष नेपालको दाबी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा समानुपातिकमा २० लाख मत पाउने दाबी गरेका छन् । मुस्लिम इत्तेहाद सङ्गठन लुम्बिनी प्रदेशको चन्द्रौटामा शनिवार आयोजित भेलालाई सम्बोधन गर्दै छोटो समयमा एकीकृत समाजवादीले जनताको मन जित्न सफल भएको बताए । गत स्थानीय तहमा १० लाखको हाराहारीमा मत पाएको बताउँदै आगामी निर्वाचनमा दृढताका साथ होमिन आग्रह गरे ।
देशको विकासको लागि पाँच दलीय गठबन्धन बनेकोले गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए । मुस्लिम इत्तेहाद संगठनले देशभरका प्रदेशमा भेला भइरहेकोले मुस्लिमहरू एकजुट भई सङ्गठन बलियो बनाउन आग्रह गरे । पार्टीका सबै सङ्गठनहरूलाई मजबुत बनाउने दायित्व सबै नेता कार्यकर्ताको रहेकोले गाउँ गाउँमा सङ्गठन बलियो बनाउनुपर्नेमा जोड दिए । गरिब र अत्याचार विरुद्ध लड्ने पार्टी एकीकृत समाजवादी रहेकोले आगामी निर्वाचनमा अत्यधिक मत पाउने गरी काम गर्नुपर्ने बताए ।
पुर्वप्रधानमन्त्री समेत रहेको नेपालले छोरा र छोरीमा विभेद गर्न नहुने बताए । छोरीहरूलाई पनि शिक्षाको पहुँचमा ल्याउनुपर्ने भन्दै स्थानीय सरकार प्रदेश सरकारले विशेष कदम चाल्नुपर्ने बताए । दुई नम्बर प्रदेशले बेटी बचाउ,बेटी पठाउन अभियान सञ्चालन गरी छोरीहरूलाई शिक्षाको पहुँचमा पु¥याउने प्रयास गरेको बताए । मदरसाहरूलाई व्यवस्थित गराई सरकारी स्वामित्वमा ल्याउन र हज कमिटी गठनमा आफूले प्रयास गरेको बताए ।
कार्यक्रममा सहरी विकासमन्त्री मेटमणि चौधरीले नेपालको रक्षा गर्न मुस्लिम समुदायको महत्त्वपूर्ण भूमिका रहेको बताए । एकीकरणको समयदेखि हाल सम्म मुस्लिम समुदायले देशको रक्षाको लागि गरेको प्रयास प्रशंसानिय रहेको जिकिर गरे ।
मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रिय अध्यक्ष ताज महोम्दले केपि ओली मुस्लिम विरोधि रहेको बताए । ओलीले पटक पटक मुस्लिमका मागलाई बेवास्ता गरेको आरोप लगाए । एमाले निकट मुस्लिम सङ्गठनका केन्द्रिय सदस्य अब्दुल रहमान राई एकिकृत समाजवादीमा प्रवेश गरेका छन् ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























