काठमाण्डाै – वन तथा वातावरणमन्त्री प्रदीप यादवले सरकारले यही हप्तादेखि व्यावसायिक गाडीमा युरो–६ इन्धन लागू गर्ने बताउनुभएको छ । शुक्रवार नेपाल उद्योग परिसङ्घले आयोजना गरेको पूर्वाधार सम्मेलनमा बोल्दै मन्त्री यादवले गाडीबाट हुने वातावरण प्रदूषणको युरोपियन मापदण्ड युरो–६ लागू गर्न लागेको बताउनुभएको हो । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवाले गएकाे कोपामा सन् २०४५ सम्म कार्बन उत्सर्जन शून्य गर्ने प्रतिबद्धता कार्यान्वयन गर्नका लागि सरकारले यही हप्ताभित्र कमर्सियल गाडीमा युरो–६ लागू गर्ने बताउनुभयो ।

मन्त्री यादवले युरो–६ लागू गर्नका लागि सबै प्रक्रिया तयारी भएकाले यही हप्ताभित्र मन्त्रिपरिषद्ले निर्णय गर्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘कोपामा गएर प्रधानमन्त्री देउवाले सन् २०४५ मा कार्बन उत्सर्जन शून्य प्रतिशत गर्ने प्रतिबद्धता जनाउनुभएको छ । प्रधानमन्त्रीको प्रतिबद्धता कार्यान्वयनका लागि वन तथा वातावरण मन्त्रालय लागिपरेको छ । सरकार तत्काल व्यावसायिक गाडीमा युरो–६ लागू गर्ने तयारीमा छौँ ।’

मन्त्री यादवले भारतमा २०२० मा नै युरो–६ लागू भएर अहिले युरो–८ लागू गर्ने तयारीमा रहेको बेला नेपालमा अझै युरो–३ चलाइरहेको बताउनुभयो । उहाँले भुटानमा समेत कार्बन उत्सर्जन कम गर्न युरो–६ लागू गर्न लागेको बताउनुभयो ।