राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण गर्नैपर्छ : प्रचण्ड
कास्की – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नैपर्ने बताउनु भएकाे छ । नेता दाहालले संविधान अनुसार राष्ट्रपतिलाई विधेयक एक पटक फर्काउने अधिकार भएको भन्दै दोस्रो पटक राष्ट्रपतिले प्रमाणीकरण गर्ने विश्वास व्यक्त गर्नुभएकाे हाे ।
प्रेस सेन्टर नेपाल जिल्ला समन्वय कास्कीले पोखरामा आयोजना गरेको कार्यक्रममा नेता दाहालले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे अदालत जाने बताउनु भयाे । उहाँले राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगरे राजीनामा दिनुपर्ने बताउनुभयाे ।
‘संविधानतः एक पटक राष्ट्रपतिलाई चित्त नबुझे विधेयक फिर्ता पठाउन मिल्छ । दोस्रो पटक पास गरेपछि अब फिर्ता गर्न मिल्दैन, संविधानमा त्यो व्यवस्था छैन,’ उहाँले भन्नुभयाे, ‘यदि प्रमाणीकरण गर्नुभएन भने अदालत जान्छ । कि उहाँले राजीनामा दिनुपर्छ ।’
सिट बाँडफाँटका लागि आजै बस्ने बैठकले टुङ्गाे लगाउने उहाँले बताउनुभयाे । ‘हिजो टुङ्गिने अवस्था थियो । हामी नेताहरू बाहिर जानुपर्ने कार्यक्रम धेरै भयो । आज ३ बजेबाट निर्णायक बैठक बस्नेछ,’ उहाँ भन्नुहुन्छ, ‘आज टुङ्ग्याउने गरी बैठक बस्छौँ ।’
प्रचण्डले प्रधानमन्त्री काे बन्ने भन्ने विषयमा चुनावको नतिजापछि मात्रै छलफल हुने बताउनुभयाे । प्रचण्डले आफूले चाहे अहिले नै प्रधानमन्त्री हुन सक्ने भए पनि आफ्नो चाहना नभएको दाबी समेत गर्नुभयाे । २०७४ सालको चुनावपछि पाँचै वर्षको लागि प्रधानमन्त्री हुन ढोका खुला भएकाे तर त्यस समयमा बाम गठबन्धन र कम्युनिस्ट एकतालाई प्राथमिकता दिएको उहाँले बताउनुभयाे ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























