अब जबरासँग सुरुमा बयान लिइने र अन्तिममा एकै पटक प्रतिप्रश्न गरिने
काठमाण्डाै – महाअभियाेग सिफारिस समितिले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको बयानका लागि बनाएको विधि परिमार्जन गरेको छ ।
आइतवार समितिले बयान लिने क्रममा नै प्रतिप्रश्न गर्दा समय लामो हुने भएकोले सुरुमा बयान लिने र अन्तिममा एकै पटक आधिकारिकतामा आधारित प्रतिप्रश्न गर्ने विधि बनाएको हो । समितिले आज प्रधानन्यायाधीश जबरासँग तेस्रो दिनको बयान लिएको छ । आजको बैठकमा एक घण्टामा पाँच वटा प्रश्नको बयान लिएर अर्काे बैठक भदौ २५ गतेलाई बोलाइएको नेपाली कांग्रेसका सांसद एवम् महाअभियोग सिफारिस समितिका सदस्य मीन विश्वकर्माले बताउनुभयो ।
बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले आजको बैठकमा न्याय सम्पादनमा प्रधानन्यायाधीशको भूमिका ढिला–सुस्ती र न्यायमा विचलन ल्याएकोबारे बयान लिइएको बताउनुभयो । उहाँले मुद्दा खेपिराखेका रञ्जन कोइरालाको सजाय घटाउने फैसलाका बारेमा पनि समितिले आज बयान लिएको बताउनुभयो । बयानमा प्रधानन्यायाधीश जबराले सकेसम्म चाँडै फैसला सकेको कुरा राख्नुभएको सांसद विश्वकर्माले बताउनुभयो ।
सांसद विश्वकर्माले बयानमा प्रधानन्यायाधीश जबराले न्यायका लागि विवेकको ठाउँ दिएको उल्लेख गर्दै पारिवारिक अवस्थालाई हेरेर रञ्जन कोइरालाको सजाय कटौती गरेको बताउनुभएको जानकारी दिनुभयो । बयानमा प्रधानन्यायाधीश जबराले यदि रञ्जन कोइरालाको सजाय कटौती गरेको कुरामा नै महाअभियोग लगाइएको भए आफू महाअभियोग स्वीकार गर्न तयार रहेको बताउनुभएकाे पनि सांसद विश्वकर्माले स्पष्ट पार्नुभयो । उहाँले समितिको अर्को बैठकमा प्रधानन्यायाधीशको बयान सकिने पनि स्पष्ट पार्नुभयो ।
सांसद विश्वकर्माले समितिको बैठक भदौ २५ गते ढिलो गरेर बोलाउनुको रहस्य चुनावकाे तयारी र सचिवालयलाई बयानको व्यवस्थापन गर्न लाग्ने समय भएको पनि स्पष्ट पार्नुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























