कञ्चनपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई समस्या नमानेको आरोप लगाउनुभएको छ ।

बुधवार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न कञ्चनपुर पुग्नुभएका ओलीले आफू नेतृत्वको सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई संविधान संशोधन गरेर नक्सासमेत सार्वजनिक गरेको बताउँदै वर्तमान गठबन्धन सरकारले चुच्चे नक्सालाई समस्या नै नमानेको बताउनुभएको हो ।

अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएको समयमा चुच्चे नक्साको विषयमा वार्ता गर्नुको साटो चुच्चे नक्सालाई समस्या नै नमानेको आरोप लगाउनुभयो । गठबन्धन सरकारले आफ्नो जमिन फिर्ता लिन्छौँ भन्न नसक्नु लाजमर्दाे भएको उहाँको भनाइ थियो ।

कार्यक्रममा अध्यक्ष ओलीले विभिन्न पार्टी परित्याग गरेका नेता तथा कार्यकर्तालाई एमालेमा प्रवेश गराउनुभयो । पार्टी प्रवेश गर्नेमा सुदूरपश्चिम प्रदेश सरकारका राज्यमन्त्री कुलवीर चौधरी, समाजवादी पार्टीका प्रदेश अध्यक्ष विक्रमबहादुर साही, पूर्वमन्त्री तारा लामा तामाङ, वेदकोट नगरपालिकाका पूर्वमेयर अशोककुमार चन्दलगायत अन्य नेता कार्यकर्ता छन् ।