दलहरुले महिलालाई प्रत्यक्षमा उम्मेदवार बनाउनुपर्छ : पूर्वसभामुख घर्ती
काठमाण्डाै – नेकपा माओवादी केन्द्रकी स्थायी समिति सदस्य एवं पूर्वसभामुख ओनसरी घर्तीले राजनीतिक दलहरुले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य चुनावमा प्रत्यक्षतर्फ बढीभन्दा बढी महिलालाई उम्मेदवार बनाउनुपर्ने बताउनुभएकाे छ ।
पार्टी सम्बद्ध महिला संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीले काठमाण्डाैमा गरेको कार्यक्रममा बाेल्दै उहाँले हरेक पार्टीमा प्रत्यक्ष चुनाव लड्ने क्षमताका महिला नेताहरु रहेकाले टिकट वितरणमा ध्यान दिन राजनीतिक नेतृत्वलाई आग्रह गर्नुभयाे । नेताहरुमा महिलाहरु समानुपातिकका लागि मात्र हुन् भन्ने मनोविज्ञानले घर गरेको र स्वयं महिलाहरु समेत समानुपातिक पद खान लालायित हुने प्रवृत्ति देखिएको उहाँको भनाइ थियो । माओवादी जनयुद्धका कारण नेपाली महिलाहरुमा जागरण आएको तथा सिंगो समाज महिलामैत्री बन्दै गएको पनि उहाँले बताउनुभयाे । पुरुषहरुलाई पृतृसत्तावादी भनेर गाली गर्ने महिलाहरु आफैं त्यो मनोदशाबाट ग्रस्त भएको उहाँको टिप्पणी थियो ।
महिलाले राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीश चलाइसकेकाले अब प्रधानमन्त्री बन्ने पालो महिलाको आएको बताउनुभयाे । महिलाले आफूलाई राजनीतिमा स्थापित गराउन मनोबल उच्च राख्नुपर्ने उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























