चितवन – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विकास, समृद्धि र व्यवस्था रक्षाका लागि आफू सङ्घर्षरत रहेको बताउनुभएको छ ।

आफ्नो निर्वाचन क्षेत्र माडीमा विभिन्न आयोजनाको शिलान्यास, उद्घाटन, अनुगमन र भेटभाटका क्रममा आझ बुधवार उहाँले राजनीतिक स्थायित्वका लागि आफ्नो सङ्घर्ष कायम रहेको बताउनुभयो । कम्युनिस्ट पार्टी एकता र विघटनका कारण निर्वाचन क्षेत्रमा सोचे जति काम हुन नसकेको भन्दै उहाँले पछिल्लो समय विकासका काम तीव्र गतिमा अघि बढेको बताउनुभयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘विगतका वर्षहरूमा कोरोना महामारी र यसअघिको सरकारको अवरोधका कारण विकासले गति लिन सकेन ।’ माडीको विकासमा निकुञ्ज ऐन बाधक रहेको भन्दै उहाँले त्यसलाई समयसापेक्ष बनाउने गरी प्रक्रिया अगाडि बढेको बताउनुभयो ।

माडीको विकास र समृद्धिविना आफूले लिएको लक्ष्य पूरा हुन नसक्ने जनाउँदै उहाँले चितवनलाई देशकै विकासको मोडेल बनाएर लागू गर्ने सङ्कल्प आफ्नो रहेको बताउनुभयो । बाँदरझुला र माडीका भूमिहीन सुकुम्वासीको जग्गा नाप्ने काम तीन दिनभित्र सुरु हुने उहाँको भनाइ छ । नाप–जाँच सकिएसँगै जग्गाधनी पुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।

शिक्षा, स्वास्थ्य, कृषि र विद्युतीकरणको क्षेत्रमा माडीमा ठूलो क्रान्ति भएको जनाउँदै उहाँले माडीको विकासविना चितवनको समृद्धिको सपना साकार नहुने बताउनुभयो । उहाँले माडी नगरपालिका वडा नं ५ र ६ जोड्ने रतनी खोला पुलको उद्घाटन, १२ किलोमिटर लामो बरुवा बजार–भैरवपुर–पर्साचोक–बैदार सिम्रेनी–गङ्गटे सडक शिलान्यास, टम्टा खोला तटबन्धको शिलान्यास गर्नुभयो ।