प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागको आज सुनुवाइ
काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल सकिनुपर्ने मागसहित सर्वोच्च अदालतमा दायर रिटको आज सुनुवाइ हुने भएको छ।
अधिवक्ता मनिराम उपाध्याय लगायतले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिनुपर्ने भनी पेश गरेको निवेदन सर्वोच्च अदालतले दर्ता गर्नु भनी गत बिहीबार आदेश गरेको हो।
उपाध्यायले निर्वाचनको मिति घोषणापछि प्रतिनिधिसभा र सबै प्रदेशसभाको कार्यकाल सकिनुपर्ने माग राखी सर्वोच्च अदालतमा निवेदन पेश गरेका थिए। उनले पेश गरेको निवेदनलाई कामु मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थीले दरपीठ गरिदिएका थिए। अदालतमा पेश भएको निवेदन प्रशासनिक रुपमा अस्वीकृत हुनुलाई दरपीठ गरेको भनिन्छ।
दरपीठको आदेशविरुद्ध अधिवक्ता उपाध्यायलगायतका निवेदकहरुले सर्वोच्च अदालतमै निवेदन दिएका थिए। त्यस्तो निवेदन सर्वोच्च अदालतको एकल इजलासले सुनुवाइ गर्छ। न्यायाधीश सुष्मलता माथेमाको इजलासले दरपीठ आदेश बदर गर्दै निवेदन दर्ता गर्नू भनी आदेश दिएपछि बिहिबार रिट दर्ता भएको थियो। रिटको आज पेशी तोकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ।
रिट निवेदनमा निर्वाचनको घोषणापछि प्रतिनिधिसभाको कार्यकाल सकिने भएकाले त्यसयता गरेका सबै निर्णय र कामकारवाहीहरू बदर हुनुपर्ने मागसमेत छ। रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, सभामुख अग्निप्रसाद सापकोटा, प्रतिनिधिसभा, सातवटै प्रदेश सभालाई विपक्षी बनाइएको छ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























