काठमाण्डाै – सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा पनि नेपाली कांग्रेसलाई पालिका चुनावकै हैसियतमा पुर्‍याउने गरी आ–आफ्नो ठाउँबाट लाग्न पार्टीको सिङ्गो पङ्क्तिलाई आह्वान गर्नुभएको छ । कांग्रेस नेतासमेत रहनुभएका मन्त्री कार्कीले देशको ऐतिहासिक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसलाई देशको आर्थिक समृद्धिको दिशामा अग्रसर गराउने जिम्मेवारी पनि आउँदाे चुनावबाट पाउने गरी तयारीमा जुट्नुपर्ने बताउनुभयो ।

बुधवार काठमाण्डाैमा पालिका चुनाव निर्वाचित पार्टीका जनप्रतिनिधिसँगको भेटघाट कार्यक्रममा बोल्दै उहाँले देशको स्थिरता र तीव्र आर्थिक विकासका लागि नेपाली कांग्रेस र सत्तारूढ गठबन्धनको विकल्प नभएको दाबी पनि गर्नुभयाे । आउँदाे चुनावमा पनि पाँच दलीय गठबन्धन कायमै रहने उल्लेख गर्दै मन्त्री कार्कीले पालिका चुनावमा पार्टीले हासिल गरेको सफलता प्रदेश सभा र प्रतिनिधि सभा चुनावमा पनि हासिल गर्नुपर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अब आउने चुनावमा पाँच दलीय गठबन्धन नै रहनेछ । देशको स्थिरताका निमित्त, विकासका निमित्त र यो देशलाई विकासोन्मुखबाट विकासशील देशमा पुर्‍याउने जिम्मेवारी कांग्रेसले पाउनुपर्छ । पालिका चुनावमा बनाएकाे स्थान आउँदाे चुनावमा पनि बनाउनका निमित्त हामी सबै आ–आफ्नो तर्फबाट लागौँ ।’

मन्त्री कार्कीले पाँच वर्षपछि हुने पालिका चुनावमा पनि कांग्रेस नै विजयी हुने गरी काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयो । उहाँले विकास, जनताको सेवा प्रवाह र उनीहरूको गुनासो तत्काल सम्बोधन गर्ने कामलाई प्राथमिकताका साथ अघि बढाउन पनि पालिकाले ध्यान केन्द्रित गर्नुपर्ने स्पष्ट पार्नुभयो । मन्त्री कार्कीले जनतालाई मर्का नपर्ने गरी करको दर तोक्न पनि जनप्रतिनिधिलाई सचेत गराउनुभयो ।