काठमाडौं : आगामी प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि सिट बाँडफाँड गर्न बनेको गठबन्धन दलहरूको कार्यदलले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई संयोजक बनाएको छ।

सोमबार बसेको ११ सदस्यीय कार्यदलको बैठकले सिटौलालाई संयोजकको जिम्मेवारी तोकेको हो। ०७४ को संघीय र ०७९ को स्थानीय तह निर्वाचनलाई मुख्य आधार मानेर सिट बाँडफाँडको प्रारम्भिक प्रस्ताव बनाउने कार्यदलको तयारी छ। कार्यदलमा नमिलेका विषय शीर्ष नेताहरूलाई छाडिने संयोजक सिटौलाले बताए।

कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँडको मोडालिटीसहितको सुझाव पेस गर्ने जिम्मेवारी दिइएको छ। कार्यदल सुझावका आधारमा गठबन्धनले भदौ पहिलो साताभित्र बाँडफाँडको विषय टुंगो लगाउने तयारी गरेको छ।

 

कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले पहिलो बैठकमा दलहरूका प्रारम्भिक धारणा आएको, संयोजक तोकिएको र आगामी बैठकमा थप छलफल हुने बताए। उनका अनुसार आ–आफ्ना दलमा छलफल गरेर कार्यदलको अर्को बैठक २६ साउनमा बस्नेछ।

माओवादी नेता देव गुरुङले सहमतिका आधारमा अगाडि बढिने बताए। कार्यदल सदस्य एवं एकीकृत समाजवादीका महासचिव बेदुराम भुसालले पहिलो बैठकमा प्रारम्भिक छलफल भएको र सिटमा दाबी पेस नभएको बताए। गत शुक्रबार बसेको सत्तागठबन्धनका शीर्ष नेताको बैठकले चुनावी सिट बाँडफाँडको प्रस्ताव तयार पार्न ११ सदस्यीय कार्यदल बनाएको थियो।

कार्यदलमा कृष्ण सिटौलासहित कांग्रेसबाट महामन्त्री गगन थापा र ज्ञानेन्द्रबहादुर कार्की, माओवादीबाट वर्षमान पुन र देव गुरुङ, एकीकृत समाजवादीबाट भुसाल र प्रमेश हमाल, जसपाबाट रामसहायप्रसाद यादव र रकम चेम्जोङ तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा सदस्य छन्।