काठमाण्डाै – नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक भोलि साेमवार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ । पदाधिकारी चयन तथा केन्द्रीय समितिलाई पूर्णता दिनेबारे थप छलफल गर्नुपर्ने भएकोले भोलिसम्मका लागि बैठक स्थगित गरेको नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले जानकारी दिनुभयो ।

आज बिहान ११ बजेका लागि डाकिएको बैठक दिउँसो १ बजेका लागि सारिएको थियो । दिउँसोसम्म पनि सहमति नजुटेपछि थप छलफल गर्नका लागि बैठक भोलिका लागि सारेको नेता गजुरेलले बताउनुभयो ।

माओवादी केन्द्रको विधानअनुसार केन्द्रीय कमिटी दुई सय ९९ सदस्यीय हुनेमा ६३ जना केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ । यस्तै अध्यक्षबाहेकका पदाधिकारी छनाेट भएको छैन । नेकपा माओवादीको पदाधिकारी १५ सदस्यीय हुने व्यवस्था छ ।

बैठकको पहिलो दिन गएकाे शुक्रवार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठले धारणा राख्नुभएको थियो । पदाधिकारी चयनसँगै अमेरिकी सहायता एमसीसी सम्झौताका बारेमा पनि माओवादी केन्द्रमा मतभेद छ ।