एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु प्रदेश १ कमिटीले स्थानीय तह निर्वाचनको माग गर्दै विराटनगरमा सडक बहस गरेको छ। विराटनगर ट्राफिक चौकमा आयोजित कार्यक्रमका बक्ताहरुले निर्वाचन मिति घोषणा गर्न सरकारले आलटाल गरिरहेको भन्दै तत्काल मिति घोषणा गर्न माग गरे।

प्रदेश १ का पूर्व मुख्यन्यायाधिवक्ता चुडामणि आचार्यले संविधानले जनप्रतिनिधि विहिन स्थानीय तहको परिकल्पना नगरेकाले सरकारले संविधानको विपरित गर्न नसक्ने बताए। उनले अविलम्व निर्वाचनको मिति घोषणा घोषणा गर्न माग गरे। सरकारले भजन गाउने कानुन व्यवसायी परिचालन गरेर कानुनका छिद्र खोजिरहेको उनको आरोप छ। ‘सरकारले आफ्नो भजन गाउने कानुनव्यवसायी परिचालन गरेर कानुनका छिद्र खोज्नलगाइरहेको छ’उनले भने‘कानुनी छिद्र खोजेर निर्वाचन सार्ने प्रयास गर्नुभन्दा तत्काल निर्वाचन घोषणा गर्नु संविधानसंवत हुन्छ। ’

अर्थशास्त्री प्रा.डा.अर्जुन बरालले संविधानको व्यवस्था अनुसार तत्काल निर्वाचनको मिति घोषणा गर्न माग गरे। देशको आर्थिक अवस्था कमजोर भईरहेका समयमा भ्रष्टाचार बढ्दो अवस्थामा रहेको उनले बताए। सरकार भ्रष्टाचार रोक्न उदासिन देखिएको उनको आरोप छ। डा.बरालले प्रदेश १ सरकारले आर्थिक भार पर्ने गरि मन्त्रालय थप गर्ने कार्य शुरु गर्नु गलत भएको बताए। उनले भने,‘ सरकारको यो कदमको सवैले विरोध गर्नुपर्छ।’ कार्यक्रममा मानव अधिकारकर्मी सोमराज थापा, पत्रकार यज्ञ शर्मा, पभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुङेल, अनेरास्ववियुका उपमहासचिव भाष्कर खनाल, अनेरास्ववियु सचिवालय सदस्य गोकर्ण घिमिरे लगायतले स्थानीय तहको निर्वाचन अविलम्व घोषणा गर्न माग गरे।