काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले छाडेर उत्साहवद्र्धक ढंगले आफ्नो पार्टीमा प्रवेश गर्नेको लहर नै चलेको बताएका छन् ।

अध्यक्ष नेपालले भनेका छन्, ‘नेकपा एमाले छाडेर हाम्रो पार्टीमा प्रवेश गर्ने सिलसिला चलेको छ । उदाहरणको निम्ति डडेलधुरा जिल्ला, त्यहाँ झण्डै झण्डै सबै जिल्ला कमिटी नै एमाले छोडेर हाम्रो पार्टीमा प्रवेश गरेको छ ।’

उनले थप भनेका छन्, ‘बेग्लै किसिमको उत्साह पैदा गरेको छ । तरंग पैदा गरेको छ । यति हुँदाहुँदै हाम्रो विपक्षमा केपी गुट पूरै लागिपरेको छ र उसले अनावश्यक आरोप लगाइरहेको छ । झूटा प्रचार गरिरहेको छ । यसको सशक्त प्रतिकार गर्ने कुरालाई अझै चोटिलो र धारिलो बनाउनु पर्नेछ ।’

शुक्रबार (आज) काठमाडौंमा बसेको पार्टी स्थायी कमिटी बैठकमा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् । त्यस्तै उनले अन्य पार्टी पनि आफ्नो पार्टीमा एकताबद्ध भएर अघि बढ्ने विषयमा छलफल भइरहेको बताए ।

अध्यक्ष नेपालले सत्तारुढ गठबन्धन चुनावसम्मै जाने र राष्ट्रियसभा निर्वाचन र उपनिर्वाचनमा सत्तारूढ दलहरूले मिलेर उम्मेदवारी दिने सहमति गरेको पनि बताए । सत्तारूढ गठबन्धनलाई तोड्न नदिन आफूहरूले समन्वय समिति बनाउनुपरेको पनि उनले स्पष्ट पारे ।