विभिन्न घटनाका दोषीहरुलाई कारबाहीको माग सुमन वाङ्देल
सिरहा । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ का कारण उत्पन्न विषम परिस्थितिमा आम नागरिकहरुमा जीवनयापनको समस्या बढ्दै गएको भएपनि सरकारले त्यसमा खासै ध्यान नदिएको र जनतालाई लकडाउन वा निषेधाज्ञाको नाममा घरमा बन्द गराएको भन्दै नेकपा (माओवादी केन्द्र) ले सरकारको राजिनामा माग गरेको छ ।
नेपाल कम्यनिष्ट पार्टी (माओवादी केन्द्र) को दुई नम्बर प्रदेश समितिले एक विज्ञप्ती जारी गर्दै जनताको समस्याको हल नगरिएको र विभिन्न घटनाहरु बढेको कारण देखाउँदै दुई नम्बर प्रदेश सरकारको राजिनामा माग गरेको हो ।
माओवादी केन्द्रको दुई नम्बर प्रदेश समितिका अध्यक्ष बब्लु सिंहद्धारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा कोरोना महामारीको समयमा समेत प्रदेश अन्तर्गत विभिन्न जिल्ला, क्षेत्रहरुमा हत्या, हिंसाका घटनाहरु घटेको र त्यसका दोषीहरुलाई राज्यसंयन्त्रले संरक्षण गर्ने हर्कत गरेको आरोप समेत लगाइएको छ ।
उक्त विज्ञप्तीमा विभिन्न घटनाहरु बढ्नुले मुलुकको गृह प्रशासन र प्रदेश सरकारको असफलता भन्दै जनताको न्याय र सुव्यवस्थाको काम गर्न नसक्ने सरकारले राजिनामा दिनुपर्ने भनिएको छ ।
साथै विज्ञप्तीमा कोरोना संक्रमणसँगै नागरिकको खाने, बस्ने र बाँच्ने समस्या बढेको अवस्थामा सरकारले जोखिममा जीवननिर्वाह गरिरहेका नागरिकको लागि कुनै प्रकारको सहयोग पुर्याउने कार्यक्रम, राहत, उद्धारलाई कार्यान्वयन नगरेको भन्दै माओवादी केन्द्रले सरकारको व्यापक विरोध गरेको छ ।