पेट्रोल खर्च घटाउँदै प्रदूषण नियन्त्रणतर्फ शिवराजको अभियान
शिवराज नगरपालिकाले वातावरणमैत्री नगर बनाउने उद्देश्यले विभिन्न शाखालाई ६ वटा विद्युतीय स्कुटर (इलेक्ट्रिक स्कुटर) वितरण गरेको छ।
स्कुटर वितरण कार्यक्रमलाई सम्बोधन गर्दै शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले नगरका विभिन्न शाखा र कर्मचारीहरूले यी स्कुटरहरूको उपयोग गरेर पेट्रोलको अत्यधिक खर्च बचत गर्नुका साथै वायु प्रदूषण नियन्त्रण गर्ने लक्ष्य लिएको जानकारी दिनुभयो।
उहाँले करिब १० लाख रुपैयाँको लागतमा स्कुटर खरिद गरिएको जानकारी दिनुभयो । नगरपालिकाको दिगो विकास र वातावरण संरक्षणमा सबैलाई एकजुट हुन आग्रह गर्दै नगरलाई हरियाली र स्वच्छ वातावरणमा रूपान्तरण गर्ने सपना पूरा गर्न सबैले आ-आफ्नो ठाउँबाट सहयोग पुर्याउनु पर्नेमा उहाँको जोड थियो।
नगरको सौन्दर्यमा मात्र नभई वातावरण संरक्षणमा समेत ध्यान दिइएको भन्दै चन्द्रौटा बजार क्षेत्रलाई आकर्षक बनाउने उद्देश्यले विभिन्न प्रजातिका फूलका गमला राख्ने तयारी भईरहेको बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले विद्युतीय स्कुटरहरू यात्रा गर्ने एक महत्वपूर्ण साधनको रूपमा विकास हुँदै गएकाले नगरपालिकाले पनि यसको उपयोग बढाउन स्कुटर खरिद गरिएको बताउनु भयो । कार्यक्रममा वडा न ६ का वडा अध्यक्ष मेहताब आलम खाँको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























