मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना ग्राहकहरूका लागि एक नयाँ र विशेष सुविधा ल्याएको छ। अब ग्राहकहरूले आफ्नो भ्वाइस र डेटा सेवाहरूलाई सजिलैसँग आपसमा साट्न सक्नेछन्। यस सुविधाले ग्राहकलाई यदि डेटा सकिएको छ र भ्वाइस बाँकी छ भने, एनसेल एपको माध्यमबाट बाँकी रहेको भ्वाइसलाई डेटा सँग साट्न सक्षम बनाउँछ। त्यस्तै, यदि डेटा बाँकी छ भने, त्यसलाई भ्वाइसमा रूपान्तरण गर्न सकिन्छ।

यो सुविधा ३९९, ४९९ र ५९९ रुपैयाँका सधैँ अन प्याक ग्राहकहरूका लागि उपलब्ध हुनेछ। ग्राहकले एनसेल एपमा “एक्स्चेन्ज डेटा अर भ्वाइस” विकल्पमा गएर, आफूलाई आवश्यक परेको सेवा अनुसार भ्वाइस र डेटा साट्न सक्छन्। उदाहरणका लागि, ५० मिनेटको भ्वाइस सेवा १,२५० एमबी डेटामा रूपान्तरण गर्न सकिन्छ, र १ जीबी डेटा ४१ मिनेटको भ्वाइस सेवामा साट्न सकिन्छ। यस सुविधामा ग्राहकले बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशतसम्म साट्न सक्छन्।

एनसेल एप प्रयोग गर्दा कुनै अतिरिक्त डेटा शुल्क लाग्दैन। साथै, नयाँ प्रयोगकर्ताहरूले पहिलो पटक एप डाउनलोड गर्दा १ GB डेटा निःशुल्क प्राप्त गर्नेछन्।