कपुरी,डेक्स।
शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्तर्गत युवाहरूको चाहना, सीप र बजारको मागअनुसार एड्भान्स (उन्नत) सीपमूलक तालिम सञ्चालन गर्ने भएको छ।

नगरपालिकाले युवाहरूलाई दक्ष, आत्मनिर्भर र स्वरोजगारमुखी बनाउन सूचना प्रविधि, प्राविधिक, सेवा तथा उत्पादनमूलक क्षेत्रमा आवश्यकताअनुसार उन्नत तालिम सञ्चालन गर्ने नीति लिएको जनाएको छ। तालिमपछि रोजगारी तथा स्वरोजगारका अवसर सिर्जना गर्न समेत आवश्यक सहजीकरण गरिने उल्लेख गरिएको छ।

नगर प्रमुख अजय थापाले युवाहरूलाई विदेशिन बाध्य हुने अवस्थालाई कम गर्दै स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने उद्देश्यले मागमा आधारित एड्भान्स तालिम सञ्चालन गर्न लागिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “आजका युवाहरूको चाहना र श्रम बजारको आवश्यकता फरक–फरक छ। त्यसैले युवाहरूको रुचि र बजारको मागअनुसार एड्भान्स तालिम सञ्चालन गरी उनीहरूलाई दक्ष जनशक्तिका रूपमा विकास गर्ने हाम्रो लक्ष्य हो। यसले स्वरोजगार र उद्यमशीलता प्रवर्द्धन गर्न महत्त्वपूर्ण योगदान पुर्‍याउनेछ।”

नगरपालिकाले युवामैत्री नीति तथा कार्यक्रममार्फत सीप विकास, उद्यमशीलता प्रवर्द्धन र रोजगारी सिर्जनालाई उच्च प्राथमिकतामा राखेको जनाएको छ। स्थानीय युवाहरूले पनि यस्तो कार्यक्रमले आफ्नो क्षमता अभिवृद्धि भई रोजगारी तथा आत्मनिर्भर बन्ने अवसर बढ्ने विश्वास व्यक्त गरेका छन्।