“पार्टीको सन्देश घरघरमा पुर्याऔं”- पूर्व सभामुख महरा
चन्द्रौटा (कपिलवस्तु)। नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रिय उपाध्यक्ष तथा पूर्व सभामुख कृष्ण बहादुर महराले पार्टीको एजेण्डा बोकेर सबै नेता तथा कार्यकर्ताहरू घरदैलो अभियानमा लाग्न आग्रह गरे ।
माओवादी केन्द्रले सुरु गरेको तीन महिने अभियान सफल बनाउन उनले आम नागरिकको घरघरमा पुग्न आफ्ना नेता तथा कार्यकर्ताहरूलाई निर्देशन दिए । कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटास्थित मदरसाको सभाहलमा कार्यकर्तासँग भेटघाट गर्दै महराले पार्टीको सन्देशलाई आम जनतासामु लैजानुपर्ने आग्रह गरेका हुन् ।
माओवादी केन्द्रका स्थायी कमिटी सदस्य एवं लुम्बिनी प्रदेश पूर्व मुख्यमन्त्री कुलप्रसद केसीले पार्टीको सकारात्मक सन्देश आम नागरिकसामु पुर्याउन अभियानमा जुट्न सबै नेता कार्यकर्तामा अपिल गरे । यता माओवादी केन्द्र लुम्बिनी प्रदेश इन्चार्ज हितमान शाक्यले पार्टी र आम नागरिकबीचको सम्बन्ध सुधार्न तीन महिने अभियान सुरूवात गरिएको बताए । प्रदेश इन्चार्ज शाक्यले जनताको मन जित्न नेता र कार्यकर्ताहरू घरदैलो अभियानमा सक्रिय भई लाग्न निर्देशन दिए ।
मदरसा बोर्ड लुम्बिनी प्रदेश उपाध्यक्ष मौलाना मशहुद खाँ ‘नेपाली’ले अल्पसंख्यक मुस्लिम समुदाय राज्यको सेवासुविधाबाट बन्चित भएको दुखेसो पोखे । साढे १३ सय धार्मिक विद्यालयमा अध्यापन गराउने धर्मगुरूलाई नयाँ शिक्षा ऐनले उपेक्षा गर्नु दु:खदायी रहेको औल्याए । आफ्नै पार्टीको सरकारले पनि मुस्लिम समुदायलाई समेट्न नसकेको उनले गुनासो पोखे ।
भेटघाट कार्यक्रममा शिवराज नगरपालिका वडा नं. ७ का वडाध्यक्ष एवं पार्टी नेता अनुप कुमार चौधरीले जिल्लाका उखु कृषकहरूको समस्यालाई राज्यले सम्बोधन गर्न नसकेको गुनासो गरे । उखु किसानको समस्या लिएर काठमाडौंमा गई आन्दोलन गर्दा समेत आफ्नै पार्टीबाट साथ नपाउँदा जनविश्वास घट्दै गएको औल्याए ।
कार्यक्रममा शिवराज नगरपालिकाका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























