बुटवल, २४ साउन ।

संखुवासभाको सदरमुकाम खाँदबारी कारागारामा कैदीबन्दीबीच कुटाकुट हुँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आकाश बलामी र विनोद तोलांगी रहेका संखुवासभा प्रहरी प्रमुख डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । आकाश चोरी र विनोद जबर्जस्ती करणी मुद्दामा सजाय भोगिरहेकाहरू हुन् ।

कारागारको शौचालयको झ्याल काटेर भाग्न खोज्दा नियन्त्रणमा लिएर भित्रै राखिएको थियो । त्यसलगत्तै भित्र कुटाकुट गरेपछि दुईजनाको मृत्यु भएको प्रहरीको भनाइ छ । घटनाको थप अनुसन्धान भइरहेको डीएसपी गोदारले बताए ।