गरिबका सपना पुरा गर्दै स्वास्थ्यलाई प्राथमिकता नगर प्रमुख थापा
चन्द्रौटा, कपिलवस्तु
कपिलवस्तुको शिवराज नगरपालिकाले आर्थिक रूपमा कमजोर वर्गका गर्भवती महिलाका लागि निःशुल्क प्रयोगशाला जाँच तथा भिडियो एक्स–रे सेवा सुरु गरेको छ। चालु आर्थिक वर्ष २०८२/०८३ को नीति, बजेट र कार्यक्रममा समावेश गरी यो सेवा सञ्चालन गरिएको छ । यसअघि नै नगरपालिकाले प्रसूति सेवाका लागि निःशुल्क एम्बुलेन्स सेवा पनि प्रदान गर्दै आएको थियो ।
सेवा पहुँचका लागि गर्भवती महिलाले कम्तीमा ४ पटक नियमित रूपमा गर्भ जाँच गराउनु आवश्यक सर्त रहेको स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले जानकारी दिनुभयो ।
नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख भट्टराईले नगरभित्रका ४ स्वास्थ्य संस्थामार्फत सेवा प्रदान भइरहेको र आधारभूत स्वास्थ्य सेवा अस्पतालमा प्रयोगशाला जाँचसँगै भिडियो एक्स-रे सेवा उपलब्ध हुने एवम् शिवपुर, चनई र शिवगढी स्वास्थ्य चौकीमा प्रयोगशाला परीक्षण सेवा सञ्चालनमा निशुल्क हुने बताउनुभयो ।
भट्टराईका अनुसार हेमोग्लोबिन, प्रोटिन, एल्बुमिन, सुगर, युरिक एसिड र रक्तचाप लगायतका परीक्षणहरू निःशुल्क रूपमा व्यवस्था गरिएको र थप सेवा विस्तार गरिने बताउनुभयो ।
नगरप्रमुख अजय थापाले स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राख्दै सेवा विस्तार गरिएको बताउनु भयो । जनताको स्वास्थ्य नै हाम्रो पहिलो प्राथमिकता भएको थापाले बताउनुभयो । प्रभावकारी र पहुँचयोग्य सेवा सबैको घरदैलोमा पुर्याउने लक्ष्य रहेको समेत थापाले बताउनु भयो । थापाले वृद्धवृद्धा तथा अशक्त नागरिकलाई घरमै पुगेर रक्तचाप लगायतका आधारभूत स्वास्थ्य परीक्षणसमेत प्रदान गरिँदै आएको जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























