शिवराजमा करिब १५ सय किशोरीलाई एच.पी.भी. खोप लगाइने
चन्द्रौटा,कपिलवस्तु ।
शिवराज नगरपालिका भित्रका विद्यालयमा अध्ययनरत कक्षा ६ का किशोरीहरू गत वर्ष खोप लगाउन छुटेका कक्षा ७ र १० का किशोरीहरू तथा विद्यालय नजाने समुदायका १० वर्षदेखि १४ वर्ष उमेर समूहका किशोरीहरूलाई लक्षित गरी पाठेघरको मुखको क्यान्सर विरुद्धको एच.पी.भी. (HPV) खोप अभियान माघ २५ गतेदेखि सञ्चालन हुने भएको छ।
यस अभियान अन्तर्गत करिब १५ सय किशोरीलाई खोप लगाइने शिवराज नगरपालिकाले जनाएको छ।
शिवराज नगरपालिकाको स्वास्थ्य शाखाद्वारा आयोजना गरिएको “एच.पी.भी. खोप सम्बन्धी नगरस्तरीय अभिमुखीकरण तथा योजना तर्जुमा गोष्ठी” मा जानकारी दिँदै स्वास्थ्य शाखा प्रमुख चुडामणि भट्टराईले एच.पी.भी. खोपले भविष्यमा महिलामा देखिने पाठेघरको मुखको क्यान्सरको जोखिम उल्लेखनीय रूपमा घटाउने बताउनुभयो।
उहाँका अनुसार लक्षित उमेर समूहका सबै किशोरीलाई खोपको पहुँचमा ल्याउन विद्यालय र समुदायस्तरमा आवश्यक समन्वय गरिएको छ।
कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापाले महिलाको स्वास्थ्य सुरक्षालाई नगरपालिका उच्च प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभयो।
उहाँले एच.पी.भी. खोप अभियान दीर्घकालीन रूपमा महिलाको जीवन रक्षा गर्ने महत्वपूर्ण कार्यक्रम भएकाले अभिभावक, विद्यालय र समुदायले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो।
शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पिताम्बर पाण्डेले खोप कार्यक्रमलाई सुरक्षित, प्रभावकारी र व्यवस्थित रूपमा सञ्चालन गर्न आवश्यक जनशक्ति खोप तथा व्यवस्थापनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिनुभयो।
कार्यक्रममा शिवराज नगरपालिका वडा न.३ का अध्यक्ष तथा सामाजिक शाखा संयोजक टेकलाल सापकोटा कार्यक्रम लाई प्रभावकारी तरिकाले सञ्चालन गर्न प्रत्येक वडाका महिला स्वयंसेवकहरूलाई परिचालन गर्नु पर्ने र विद्यालयलाई परिचालन गर्न शिक्षा शाखा संग समन्वय गर्न आवश्यक पहल गर्न निर्देशन दिनुभयो । कार्यक्रमको सहजीकरण सिद्धार्थ काजी बज्राचार्यले गर्नुभएको थियो।
गोष्ठीमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विद्यालयका प्रतिनिधि, सरोकारवाला निकायका प्रतिनिधि तथा प्रत्येक वडाका स्वास्थ्य शाखा प्रमुख, नगरपालिकाका शिक्षा शाखा प्रमुखलगायत अन्य शाखा प्रमुखहरूको उल्लेखनीय उपस्थिति रहेको शिवराज नगरपालिका स्वास्थ्य शाखाकि संगिता परियारले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























