चन्द्रौटा(कपिलवस्तु), २६ असार ।

कपिलवस्तुमा दाजु भाईसहित ४ जनाको मृत्यु भएको छ । सर्पले टोकेको थाहा नपाउँदा बुद्धभुमि नगरपालिका वडा नम्बर–१, कपासीमा दाजुभाइको सर्पको टोकाईबाट सोमबार राती मृत्यु भएको हो । मृत्यु हुनेमा वर्ष १२ का दिपक भुसाल र वर्ष ९ का प्रदिप भुसाल रहेका छन् । राति मृतक दाजुभाई हजुर आमासँगै भुईमा विस्तारा लगाएर सुतेका थिए ।

विहान अचेत अवस्थामा देखिएपछि उपचारका लागि स्थानीय मेडिकलमा पुराइएको जनाइएको छ । उपचार सम्भव नभएपछि थप उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुराइएको थियो । घरबाट ५ किलोमिटरमा सर्पदंश उपचार केन्द्र छ तर सर्प डसेको शंका नै भएन । अरु होला भनेर उपचारका लागि बुटवल लगिएको स्थानिय पशुपती शर्माले बताए । मृतक दुबैजना पारिजात बोडिङ स्कूल गोरुसिङ्गेमा अध्ययन गर्दै आएका थिए ।

अस्पतालको रिपोर्टमा सर्पदंशको कारण मृत्यु भएको टिपोट भएको कपिलवस्तु सर्पदंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले बताए । हजुर आमालाई अहिले सर्पदंश उपचार केन्द्र भर्ना गरिएको छ । उनको अवस्था सामान्य रहेको भण्डारीले जनाए । मृतक दाजु भाईको बुवाको केही महिना अगाडी मृत्यु (आत्महत्या) भएको थियो ।

बुवाको मृत्युपछि आमा जहान पाल्नकालागि बैदेशिक रोजगारीमा गएकी थिइन । मृतक दाजु भाईलाई हजुर बुवा र हजुरआमाले रेखदेख गर्दै आएकी थिइन । यसै गरी सोमबार सर्पले टोकेको थाहा नहुँदा थप दुई महिलाका समेत मत्यु भएको सर्पदंश उपचार केन्द्रले जनाएको छ । मृत्यु हुनेमा महाराजगन्ज नगरपालिकाका वर्ष ३१ की अनिता यादव र बुद्धभूमि नगरपालिका वडा नम्बर १० धनकौलीका वर्ष १४ को ममता चमार रहेकी छन् ।

दुवै महिलालाई गोमन सर्पले डसेको हुन सक्ने आशंका गरिएको छ । पेट दुख्ने, थुक निल्न गारो हुने, आँखा खोल्न अफ्टेरो हुने, शरिर दुख्ने जस्ता लक्षण सर्पको टोकाई हुने भएकोले त्यस्तो देखिएमा सर्पदंश उपचार केन्द्रमा जान आग्रहसमेत गरेका छन् ।