काठमाडौँ : कोभिडविरुद्धको खोप अभाव भएर विदेश जानेहरूले खोप लगाउन नपाएका वेला भोलि (सोमवार) नेपालमा कोरोनाविरुद्धको अर्को नयाँ खोप आउने भएको छ।
कोभ्याक्स सुविधामार्फत पहिलोपटकफाइजरको वाई भ्यालेन्ट खोप आउन लागेको हो। स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाअन्तर्गत आपूर्ति शाखाका अनुसार फागुन १ गते ३ लाख ४५ हजार, फागुन ८ र ११ गते पनि सोही परिमाणमा खोप आउनेछ। बाँकी रहेको १ लाख २० हजार खोप १५ फागुनमा आउनेछ।
आपूर्ति शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाका अनुसार फागुन १५ गतेसम्म विभिन्न चरणमा गरी १५ लाख फाइजरको वाई भ्यालेन्ट खोप आइसक्ने र खोप आउनासाथ आवश्यकताका आधारमा प्रदेशहरूमा वितरण गरिने बताए।
नयाँ बाइभ्यालेन्ट खोप ओमिक्रोन ४ र ५ मा प्रभावकारी देखिएको भन्दै नयाँ भेरियन्टमा प्रभावकारी हुने बताइएको छ। यो खोपको आपत्कालीन प्रयोगका लागि गत १२ पुसमा बसको औषधि सल्लाहकार समितिको ५४ औँ बैठकले स्वीकृत गरिसकेको छ।
नेपालमा हालसम्म कोभिडविरुद्धको मोडर्ना, फाइजर, एस्ट्राजेनिका‚ कोभिसिल्ड‚ भेरोसेल, जन्सन एण्ड जन्सन कम्पनीका खोप प्रयोगमा ल्याइएको थियो। फाइजरको वाई भ्यालेन्ट खोप भने पहिलोपटक नेपालमा आउन लागेको हो।
पछिल्लो समय नेपालमा कोभिड संक्रमणदर घट्दै गएको हुँदा खोपप्रति खासै चासो नभए पनि रोजगारी तथा विभिन्न कामको सिलसिलामा विदेश जानेहरूले बुस्टर खोप लगाउने भए पनि खोप नहुँदा खोप लगाउन पाएका छैनन्।