बञ्चरेडाँडामा गोली चल्यो, एक जना सिकिस्त
काठमाडौं : फोहोर विसर्जनमा अवरोध गरेपछि बञ्चरेडाँडामा प्रहरीको गोली लागेर एक जना सिकिस्त भएका छन्।
प्रहरीको उपस्थितिमा बल प्रयोग गरेर फोहोर फाल्न खोजिए पनि प्रहरी र स्थानीय बासिन्दाबीच दोहोरो झडप भएको हो।
स्थानीयले प्रहरीमाथि ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले रबरको गोली प्रयोग गरेको छ। गोली लागेर स्थानीय कमल तामाङ गम्भिर घाइते भएका छन्। उनको आँखाभन्दा अलिकति माथि गोली लागेको धुनीबेंसी नगरपालिका वडा नम्बर १ का अध्यक्ष मानबहादुर तामाङले थाहाखबरलाई जानकारी दिए।
घाइते तामाङको प्राथमिक उपचारपछि थप उपचारका लागि अन्यत्रै पठाउने तयारी भैरहेको छ। फोहोर विसर्जनका लागि बाक्लो संख्यामा प्रहरी परिचालन गरिएको छ भने सर्वसाधारणलाई घरबाट बाहिर निस्कनसमेत दिइएको छैन।
प्रहरी आउने थाहा पाएर डाँडामा उक्लिएका स्थानीयहरू फोहोर विसर्जन गर्न शुरु गरेपछि ढुङ्गामुढामा उत्रिएका हुन्। उपत्यकाबाट फोहोर बोकेर ल्यान्डफिल साइट गएका सयौँ गाडी नुवाकोटको आलेटार र सिसडोलमै रोकिएका छन्। त्यहाँको सडकमा प्रहरी परिचालन गरिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















