काठमाडौँ — नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)ले सर्वोच्च अदालतको फैसला विपरीत संसद्‍ अवरुद्ध पारिरहेको बताएका छन् ।

आइतबार काठमाडौंमा आयोजित पार्टी निकट समाजवादी शैक्षिक परामर्श व्यवसायी मञ्च घोषणासभामा नेता नेपालले यस्तो बताएका हुन् । उनले एमालेले संसद्‍ अवरुद्ध पारेर संविधानलाई नै चुनती दिएको आरोप लगाए ।

अध्यक्ष नेपालले अदालतको फैसला स्वीकार नगर्नेले संसद्‍ अवरोध गर्नुको कुनै अर्थ नहुने दोहोर्‍याए । ‘जुन व्यक्तिले विधि, विधान मान्दैन । संविधानको प्रावधान स्वीकार गर्दैन । कानुनी शासनको मान्यता अंगिकार गर्दैन । अदालतको आदेशलाई स्वीकार गर्दैन । अदालतमा विचाराधीन मुद्दाहरूमाथि बहस गर्न पाइँदैन । संसद्‍मा छलफल गर्न पाइँदैन भन्छ त्यही ठूलो स्वरले कराइरहेको, चिच्याइरहेको सुनिन्छ । नेपालीमा एउटा उखान छ–जो चोर उसैको ठूलो स्वर,’ अध्यक्ष नेपालले भने ।

कानुनी राज्यको मान्यता स्वीकार गर्नेले सर्वोच्च अदालतको फैसला पनि स्वीकार गर्नुपर्ने भन्दै नेता नेपालले एमालेको संसद्‍ अवरोधप्रति आपत्ति जनाएका थिए । तर ‘केपी ओलीको गुट’का कसैले अदालतको फैसला मान्ने पक्षमा नरहेको उनको भनाइ थियो ।

साथै जनादेशलाई पनि एमालेले स्वीकार नगर्ने उनले बताए । ‘जनताका निर्णयलाई पनि अंगीकार गर्दैन । जनतालाई उसले टेर्दैन । कानुनलाई वास्ता गर्दैन । संविधानलाई उसले चुनौती दिन्छ । संविधानलाई चुनौती दिएरै संविधान विपरीत कदम चालेको तपाईँलाई थाहा छ,’ अध्यक्ष नेपालले भने ।

अध्यक्ष नेपालले एमालेले अदालतमा विचाराधीन मुद्दा उठान गरेर संसद्‍ अवरुद्ध पार्न नपाउने पनि बताए । ओलीलाई लक्षित गर्दै नेता नेपालले पार्टी प्रवेश गर्नेहरूको लहर चलेको दाबी गर्दै विरोधीहरूमा छटपटाहट आएको बताए ।