कपिलवस्तु वाणगंगा नगरपालिका वडा नं. १ का कोरोना संक्रमित व्यापारी रहेको खुलेको छ । आफै रकम खर्चेर बुटवल पुगेर स्वाब संकलन गराएका ती व्यापारीलाई आइतबार साँझ मात्र कोरोना पुष्टि भएको थियो ।
कोरोना पुष्टि भएपछि खोज्दै जाँदा बैरिया निवासी ती व्यापारीलाई कोरोना पुष्टि भएको हो । स्रोतका अनुसार उनलाई पछिल्लो समय ज्वरो र रुघाखोकी लागेको थियो । पछि कोरोना शंका लागेर उनले बुटवल पुगेरै स्वाब दिएका थिए ।
संक्रमित वाणगंगा क्षेत्रका ठूला घरना भित्र पर्ने व्यापारी हुन् । यहाँबाट उनले देशका विभिन्न स्थानमा मालसमान निर्यात गर्ने गर्दछन् भने विभिन्न क्षेत्रबाट आयात गर्ने गरेका छन् । विशेष गरी खाने तेल, पेट्रोलियम पदार्थ बेच्ने भएकाले उनमा बढी कोरोनाको डर थियो । प्रदेश २ बाट प्रायगरी उनले खाने तेल आयात गर्ने गरेका थिए । अहिले प्रदेश नं. २ कोरोनाको इपिसेन्टर बनेको छ ।
यति मात्र होइन् उनी उद्योगी पनि हुन् । उनको चन्द्रौटा–जभावारी क्षेत्रमा ठूलो उद्योग छ । त्यो उद्योगमा उनी दिनको एक दिन अनिवार्य पुगेकै हुन्थे । उनलाई उतैबाट कोरोना सरेको हुन सक्ने आशंका छ ।
यसरी प्रतिष्ठित व्यापारीमा कोरोना संक्रमण देखिएपछि उनीसंग सम्पर्कमा कति व्यक्ति थिए अनुमान पनि लगाउन सक्ने स्थिति छैन् । उनमा कोरोना भएको पुष्टि भएपछि यस क्षेत्रमा बढी जोखिम बढेको छ । उनको सम्पर्कमा थुप्रै व्यक्ति रहेकाले सोमबार देखि वाणगंगा, चन्द्रौटा लगायतका स्थानमा स्वाब संकलनको तयारी सम्बन्धित स्थानीय तहले गरेको बुझिएको छ ।
यता संक्रमित अहिले घरमै छन् । उनी घरमै आइसोलेसन बनाएर बसेको जनाइएको छ । अहिले उनमा ज्वरो र रुघाखोकी ठिक भैसकेको जनाइएको छ ।