सिद्धार्थ सामाजिक विकास केन्द्रले कपिलवस्तुको शिवराज नगरपालिका अन्तर्गतका तीन वटै वडाका स्थानीय नागरिकहरूलाई आत्मनिर्भर बनाउने उद्देश्यले बहुआयामिक कार्यक्रमहरू सञ्चालन गरेको छ। शिवराज नगरपालिका वडा नं. ४, १० र ११ मा युवा क्लब, विद्यालय तथा कृषिलक्षित समूहमार्फत विभिन्न कार्यक्रमहरू सञ्चालनमा ल्याइएको हो।

केन्द्रले ४२ जनालाई आवश्यकताको मूल्यांकनपश्चात प्रति व्यक्तिलाई १५ हजारदेखि २९ हजार रुपैयाँसम्म नगद सहयोग प्रदान गरेको छ। यही सहयोगबाट स्थानीयहरू साना व्यवसाय सञ्चालन गरी जीविकोपार्जन गरिरहेका छन्। त्यस्तै, ३० जनालाई अर्गानिक तरकारी उत्पादनका लागि प्रतिव्यक्ति १० हजारका दरले सहयोग गरिएको छ। साथै, १२ वटा कृषक समूहलाई प्रतिग्रुप ५० हजारका दरले घुम्ती कोष स्थापना गर्न समेत सहयोग गरिएको हो।

शिवराज–१०, लालपुरकी रोशनी चमारले केन्द्रको सहयोगमा किराना पसल सञ्चालन गर्दै आइरहेकी छन्। “अहिले नियमित आम्दानी हुन थालेको छ, खुसी छु,” चमारले भनिन्। त्यस्तै, स्थानीय ओमप्रकाश थारुले तरकारी खेती गर्दै आफू व्यवसायिक बन्न सफल भएको अनुभव सुनाए।

यसैक्रममा नगरप्रमुख अजय थापाको नेतृत्वमा एक टोलीले बुधवार ती वडामा सञ्चालनमा आएका कार्यक्रमहरूको स्थलगत अनुगमन गरेको छ। अनुगमनको क्रममा शिवराज–११ मा रहेको ज्ञानोदय आधारभूत विद्यालयलाई २३ सेट फर्निचर, शैक्षिक सामग्री र अतिरिक्त क्रियाकलापका सामग्रीहरू प्रदान गरिएको कार्यक्रम संयोजक अजय चौधरीले जानकारी दिए। विद्यालयको भौतिक संरचना मर्मत गर्नुपर्ने देखिएकाले नगरप्रमुख थापाले पालिकासँग सहकार्य गरी सुधारको पहल गर्न आग्रह गरे।

कार्यक्रम अन्तर्गत किशोर–किशोरी समूहद्वारा बालविवाह र लैंगिक हिंसाविरुद्ध सञ्चालन गरिएका अभियानहरूको पनि प्रस्तुति गरिएको थियो। किशोरी समूहकी पुनम नाउँले अहिलेसम्मका गतिविधि र आगामी योजनाबारे जानकारी दिँदै समाज रूपान्तरणमा केन्द्रको भूमिकाको प्रशंसा गरिन्।

शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारुले महिलाहरूलाई आत्मनिर्भर बनाउनु आजको आवश्यकता रहेको बताउँदै संस्थाको कार्यप्रति आभार व्यक्त गरिन्। “कृषि तथा महिलासम्बन्धी क्षेत्रमा केन्द्रले उदाहरणीय काम गरेको छ,” उपप्रमुख थारुले भनिन्।

कार्यक्रममा सिद्धार्थ सामाजिक विकास केन्द्रकी अध्यक्ष सूर्यकुमारी शाहीले नगर क्षेत्रका महिला, युवा क्लब तथा विद्यालयहरूसँग सहकार्य गरेर आगामी दिनहरूमा पनि सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरिन्। गाउँको आवश्यकताअनुसार पालिकासँग सहकार्य गरी कार्यक्रम अगाडि बढाइने उनको भनाइ थियो।