सम्पादकीय

शिवराज नगरपालिका वडा नं. २, बालापुरमा निर्माण गरिएको “कृषि संकलन केन्द्र” भवन अहिले पनि बन्द ढोकामै सीमित भएको देख्न सकिन्छ। शिवराज नगरपालिका वडा न २ ले  लाखौं रुपैयाँ खर्चेर निर्माण गरिएको यो संरचना किसानका लागि निर्माण गरिएको भए तापनि न यहाँ किसान आउँछन् न कुनै गतिविधि भएको देख्न सकिन्छ ।  स्थानीय जनताले आशा गरेका थिए कि यो केन्द्र कृषि उत्पादनको उचित मूल्य सुनिश्चित गर्ने सञ्जाल विस्तार गर्ने र किसानलाई आत्मनिर्भर बनाउने थलो हुनेछ। तर दुःखको कुरा वडाले होचुवाको भरमा निर्माण गरिएको यो भवन आजसम्म पनि शून्य प्रयोगमा छ । वडा कार्यालयको ठिक अगाडी निर्माण गरिएको यो संरचनाले वडा कार्यालयलाई समेत कुरुपता दिएको छ ।

विकास समाजलाई देखाउने हो कि  अनुभूति गराउने ?

हाम्रो समाजमा “भौतिक विकास” का नाममा संरचना बनाउने होड छ। तर केवल भवन उठाएर काम सम्पन्न भयो भन्ने मानसिकता नै समस्याको जड हो। प्रयोगविहीन संरचनाले न त समुदायको आवश्यकतालाई सम्बोधन गर्छ न त जनताको जीवनस्तरमा सुधार ल्याउँछ। यस्तो लगानीको मूल्याङ्कन गर्नुको साटो फोटो खिच्ने र उद्घाटनको नाटक गरेर बजेट सिध्याउन  गरिएको पाइन्छ ।

शिक्षा जस्ता विषयमा  वडाको उपेक्षा ?

यदि यति ठूलो रकम शिवराज नगरपालिका वडा न २ बालापुरको कुनै सरकारी विद्यालयमा शैक्षिक सुधारमा लगानी गरिएको भए-जस्तै पुस्तकालय निर्माण, डिजिटल सिकाइ उपकरण,कमजोर आर्थिक अवस्थाका बालबालिकालाई सहयोग ट्युशन क्लासमा लगानी गर्न सके यसले शिक्षाको गुणस्तरमा सुधार गरि बालबालिकाको भविष्य बनाउने थियो। आज पनि विद्यालयहरूमा आधारभूत संरचनाको अभाव छ भने यस्ता प्रयोगविहीन भवन किन र कस्का लागी ?

के गर्ने  त ?

वडा तहमा रहेका स्थानिय जनप्रतिनिधिहरुले आफ्नो ३ वर्षे कार्यकालयको समिक्षा गरि यस्ता योजनाहरुको पुनःमूल्याङ्कन गर्नुपर्ने तत्काल आवश्यकता रहेको देखिन्छ । केवल नामको वडा बैठक भत्ता खानका लागि नभइ स्थानिय जनताको आवश्यकता र चाहनालाई मध्य नजरगर्नुपर्छ। बन्द रहेको संरचनालाई पुनःसक्रिय बनाउने योजना तुरुन्त ल्याउनुपर्छ। यदि कृषकहरूले सो संरचना  प्रयोग हुने कुनै  सम्भावना नरहे वडा समितिको बैठक बसि  वैकल्पिक रुपमा सामुदायिक प्रयोजनका लागि रूपान्तरण गर्न सकिन्छ-जस्तै सामुदायिक पुस्तकालय वा प्रहरी बिट ।

लेखक: शरद अधिकारी

शिवराज नगरपालिका–५ सहजटोल