चन्द्रौटा, कपिलवस्तु।

१३७औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शिवराज नगरपालिकामा श्रमिकहरूको हक, अधिकार र सम्मानको माग गर्दै सचेतनामूलक र्‍याली तथा कोणसभा सम्पन्न भएको छ।
‘मनोसामाजिक सुरक्षा सुनिश्चित गरौं, श्रमिकको सम्मान गरौं’ भन्ने नारासहित आयोजित कार्यक्रममा श्रमिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। शिवराज नगरस्तरीय श्रमिक सञ्जालको आयोजना तथा सिद्धार्थ सामाजिक विकास केन्द्रको सहयोगमा कार्यक्रम सम्पन्न भएको हो।
वडा नं. ५ स्थित संजिवनी सामुदायिक अस्पतालबाट सुरु भएको र्‍याली नगरका विभिन्न भाग हुँदै दुर्गा मन्दिरमा पुगेर कोणसभामा परिणत भएको थियो। सहभागीहरूले प्लेकार्डसहित श्रमको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मानको माग गरेका थिए।
कोणसभामा बोल्दै वडा अध्यक्ष नेत्र बेल्वासेले श्रमिकलाई राष्ट्रको आर्थिक मेरुदण्ड भएको बताउँदै उनीहरूको समस्या समाधानमा राज्यका सबै तह गम्भीर हुनुपर्नेमा जोड दिए।
कार्यक्रममा वक्ताहरूले न्यूनतम पारिश्रमिक, स्वास्थ्य बीमा र सुरक्षित कार्यस्थलको सुनिश्चिततामा जोड दिएका थिए।