दिपक खड्का ।

कपिलवस्तुमा युवाहरूको क्षमता विकास र सशक्तीकरणलाई केन्द्रमा राख्दै जीवन उपयोगी सिप विकास सम्बन्धी प्रशिक्षक तालिम सम्पन्न भएको छ। एक्सनएड इन्टरनेशनल नेपालको सहयोग तथा स्थानीय साझेदारीमा सञ्चालित “स्थानीय अधिकार कार्यक्रम (LRP)” अन्तर्गत वैशाख ०६ देखि १० गतेसम्म सञ्चालन भएको उक्त तालिम सिद्धार्थ सामाजिक विकास केन्द्रका अध्यक्ष तृलोचन घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो।

Oplus_131072

कार्यक्रममा शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने पूर्व अध्यक्ष सागर श्रेष्ठ र पूर्व अध्यक्ष एवं प्रशिक्षक पोम नारायण पौडेललगायतको उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले जीवन उपयोगी सिप आजको आवश्यकता भएको उल्लेख गर्दै यसले व्यक्तिलाई आत्मनिर्भर र जिम्मेवार नागरिक बन्न सहयोग गर्ने बताए। उनले आत्मविश्वास, निर्णय क्षमता, समस्या समाधान, सञ्चार सीप, नेतृत्व विकास र भावनात्मक सन्तुलनलाई जीवन उपयोगी शिक्षाको आधारका रूपमा व्याख्या गरे।

तालिममा सहभागीहरूलाई व्यक्तिगत विकास, समूहमा काम गर्ने तरिका, द्वन्द्व व्यवस्थापन, लैंगिक समानता, बालअधिकार र सामाजिक सचेतनाका विषयमा व्यवहारिक अभ्याससहित प्रशिक्षण दिइएको थियो। प्रशिक्षार्थीहरूले तालिम प्रभावकारी र उपयोगी रहेको प्रतिक्रिया दिएका छन्। सहभागी पंकज यादवले तालिमबाट प्राप्त ज्ञानलाई समाजमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

आयोजकका अनुसार यस्ता कार्यक्रमले सहभागीहरूमा आत्मविश्वास, नेतृत्व क्षमता र सामाजिक जिम्मेवारीप्रति जागरूकता बढाउँदै दीर्घकालीन रूपमा समाज रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।