चन्द्रौटा,कपिलवस्तु ।

नेपालको इतिहासलाई हेर्दा राजतन्त्रले देशको समृद्धि र जनताको हितभन्दा बढी आफ्नो सत्तालाई कसरी बलियो बनाउने भन्ने कुरामा ध्यान दिएको पाइन्छ। कतिपय राजाहरू व्यक्तिगत रूपमा भलाद्मी, दूरदर्शी वा उदार सोच राख्ने भए पनि उनीहरू वरिपरिका सत्तालोभी मानिसहरूका कारण वास्तविक रूपमै लोकहितमा शासन गर्न सकेनन्। पञ्चायती व्यवस्था वा राजकीय सत्ताका समयमा जनताको आवाज दबाइने, स्वतन्त्र विचार र अभिव्यक्तिमाथि नियन्त्रण गरिनेजस्ता घटनाहरू अहिले पनि बुढापाखाहरुले भन्ने गरेको छन् ।

कतिपय व्यक्तिहरू गणतन्त्रको अभ्यासका क्रममा देखा परेका विकृतिहरू देखेर पुनः राजतन्त्रको समर्थन गर्न थालेका छन्। उनीहरूको धारणा छ कि भ्रष्ट नालायक वा अकर्मण्य नेताहरूको तुलनामा एउटा मात्र राजा भए कम्तीमा एउटा मात्रै व्यक्तिले शासन गर्छ। तर  के साँच्चै यो समाधान हो ?

गणतन्त्र भनेको निरन्तर सुधार गर्न सकिने व्यवस्था हो। यहाँ कमीकमजोरी छन् तर त्यसलाई सुधार्ने अवसर जनतासँग छ। जनताले नेताहरूको मूल्याङ्कन गर्न, सरकार परिवर्तन गर्न  नीति तथा व्यवस्था सुधार गर्न सक्ने अधिकार राख्छन्। लोकतन्त्रमा भएको खराबी हटाउने उपाय चुनाव, जनमत र नीति सुधारमा केन्द्रित हुन्छ। तर, राजतन्त्रमा सुधार गर्ने कुनै स्पष्ट मार्ग हुँदैन किनभने सत्ता वंशानुगत रूपमा चल्ने भएकाले योग्यताभन्दा जन्म नै शासनको आधार बन्छ।

नेपाललाई समृद्ध बनाउन लोकतान्त्रिक प्रणालीलाई सुदृढ पार्नु आवश्यक छ। स्थायित्वका लागि प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री प्रणालीको परिकल्पना गर्न सकिन्छ। प्रदेश र केन्द्रमा विज्ञहरूलाई मन्त्री बनाउने व्यवस्थापन गर्न सकिन्छ। यी सबै सुधार गणतन्त्रमा सम्भव छ, तर राजतन्त्रमा असम्भवप्रायः छ।

राजतन्त्रमा सत्ता परिवर्तन वा सुधार गर्ने कुनै लोकतान्त्रिक प्रक्रिया हुँदैन। इतिहासले देखाएको छ कि जब जनता प्रतिरोधमा उत्रिन्छन्, तब मात्र राजतन्त्र केही लचिलो बन्छ। तर त्यसपछि पुनः सत्तास्वार्थमै केन्द्रित हुने प्रवृत्ति दोहोरिन्छ। त्यसैले, आज हामीले गर्ने बहस गणतन्त्रलाई अझ सशक्त कसरी बनाउने भन्नेमा केन्द्रित हुनुपर्छ न कि इतिहासमा फर्केर फेरि निरंकुशताको पक्षपोषण गर्ने दिशामा।

लोकतन्त्रको अनुभव नेपालमा लामो छैन, तर सही सुधारका साथ यसलाई सक्षम बनाउन सकिन्छ। सच्चा लोकतान्त्रिक शासन भनेकै जनताका लागि, जनताद्वारा सञ्चालित व्यवस्था हो, जहाँ पारदर्शिता, जवाफदेहिता र अवसरको सुनिश्चितता हुन्छ। यसैलाई सबल बनाउनु आजको मुख्य आवश्यकता हो।

लेखक:शरद अधिकारी