ललन राउत बरै राष्ट्रिय सेवा सम्मान–२०८३ बाट सम्मानित
काठमाडौं । युवा राजनीतिज्ञ, सामाजिक अभियन्ता तथा सञ्चारकर्मी ललन राउत बरैलाई राष्ट्रिय सेवा सम्मान–२०८३ बाट सम्मानित गरिएको छ। फोकस नेपाल संस्थाद्वारा नयाँ वर्ष २०८३ को शुभ अवसरमा नेपाल पुलिस क्लबमा आयोजित “शान्ति, सहमति र सहकार्य राष्ट्रका निम्ति अपरिहार्य भूमिका” विषयक विचार गोष्ठी तथा सांस्कृतिक कार्यक्रममा उहाँलाई उक्त सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा राष्ट्रिय सभाकी उपाध्यक्ष लीला कुमारी भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी भई भव्य समारोहका बीच राउतलाई सम्मान गर्नुभएको हो। कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो भने शान्ति, सहमति र सहकार्यमार्फत राष्ट्र निर्माणमा सबैको भूमिका अपरिहार्य रहेको विषयमा वक्ताहरूले आफ्ना धारणा व्यक्त गरेका थिए।
सम्मानित राउत सामाजिक कार्यमा समेत सक्रिय रहँदै आउनुभएको छ।
उहाँले पत्रकारिताको माध्यमबाट विशेषगरी विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरूको हक, अधिकार र आवाजलाई सशक्त रूपमा उठाउँदै समाजमा सकारात्मक सन्देश प्रवाह गर्दै आउनुभएको छ। साथै, उहाँले क्रिकेट प्रतियोगिताहरू आयोजना गरी युवाहरूलाई खेलकुदमार्फत एकताबद्ध गर्दै सामाजिक जागरण फैलाउने कार्यमा पनि महत्वपूर्ण योगदान पुर्याउँदै आउनुभएको छ।
यस सम्मानले उहाँको सामाजिक, राजनीतिक तथा सञ्चार क्षेत्रको योगदानलाई थप उचाइ दिएको छ। कार्यक्रममा सहभागीहरूले राउतको कार्यप्रति प्रशंसा व्यक्त गर्दै आगामी दिनमा अझ सशक्त भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























