(सम्पादकीय) कबीराज अधिकारी

नेपालका राजनीतिक दलहरूले आ–आफ्ना जनवर्गीय संगठनहरूमार्फत संगठन विस्तार र जनसमर्थन सुनिश्चित गर्ने परिपाटी अपनाउँदै आएका छन्।

विद्यार्थी, युवा, महिला, श्रमिक, किसान, जातीय र पेशागत वर्गमा आधारित यस्ता संगठनहरू प्रारम्भदेखि नै दलहरूको बलियो आधारशिला बन्ने गरेका छन्। इतिहास साक्षी छ-जब जब माउ पार्टी संकटमा फस्दा यिनै संगठनहरूले अग्रपंक्तिमा उभिएर सत्ताको रक्षा गरेका छन्।

आज पनि विद्यार्थी र युवा संगठनहरू सडकदेखि सदनसम्मको बहसमा प्रभावशाली रूपमा उभिएका छन्। महिलादेखि जातीय संगठनसम्मले पार्टीलाई निरन्तर सहयोग गरिरहेका छन् । यिनै संगठनहरू चुनावताका भोट संकलनको आधार बने पनि चुनावपछिको राजनीतिक निर्णय बजेट निर्माण र विकास प्राथमिकतामा भने उपेक्षित हुँदै गएका छन्।

यहाँ अचम्म लाग्ने विषय के छ भने वर्षौँदेखि चलनचल्तीमा रहेका सडक र गाउँको अवस्था जस्ताको तस्तै छ। तर दलाल र बिचौलियाहरूले निर्माण गरेका तीन महिने अस्थायी सडकमा भने लाखौँ रुपैयाँ विनियोजन भएका छन्। प्रश्न उठ्छ-यस्ता ‘विकास’ आम गरिब नागरिकको चाहना हुन् कि बजेटको चरम दुरुपयोगका उदाहरण ?

प्रत्येक चुनावअघि नेताहरूले संगठनका प्रतिनिधिहरूसँग सहमति वाचा र भरोसा बाँड्छन्। सत्ता र शक्तिमा पुगेपछि यिनै वाचा भुल्ने प्रवृत्ति दलहरूमा मौलाउँदै गएको छ। अहिले लुम्बिनी प्रदेश यसको ज्वलन्त उदाहरण बनेको छ। बजेट मागको आधार नजानी व्यक्तिगत पहुँच र ठेकेदारी प्रवृत्तिले प्रदेश सरकारको प्राथमिकता निर्धारणमा असमानता आएको गुनासो प्रदेशसभाबाटै उठ्न थालेको छ। कतिपय स्थानमा त आफ्नै पार्टीका सांसद र मन्त्रीहरूलाई जनसमुदायमा जान रोक लगाइएको खबरहरू सार्वजनिक भइरहेका छन्। स्थानीय तहहरूमा त झन् हालत नाजुक छ।

निर्वाचित जनप्रतिनिधिहरूले बजेट विनियोजनमा आफ्ना नगर समिति वडा समिति वा जनवर्गीय संगठनहरूसँग सरसल्लाह नगरेको आरोप लाग्दै आएको हो। चुनावमा पार्टीको टिकटका लागि मरिहत्ते गर्नेहरू जितेपछि भने ‘व्यक्तिगत लोकप्रियता’ को नाममा संगठनलाई बेवास्ता गर्छन्।

वर्गीय संगठनका नेताहरूको गुनासो पनि यहीँनेर केन्द्रित हुन्छ-के हामी केवल भोट बैंक हौँ ? या राजनीतिक सिँढी हौँ ? यो प्रश्न गम्भीर छ। यसले दलभित्रको आन्तरिक असन्तोषको संकेत दिन्छ। अब राजनीतिक दलहरूले आत्ममूल्यांकन गर्नुपर्छ-जनवर्गीय संगठनहरूलाई प्रयोग गर्ने हैन सम्मानजनक साझेदारको रूपमा स्वीकार्ने संस्कार बसाल्नुपर्छ। नत्र भविष्यमा न संगठन बाँच्छ न पार्टीको बुनियाद।

लेखक कबीराज अधिकारी युवा  अगुवा हुन ।