कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ स्थित विद्यालयको नाममा रहेको सार्वजनिक जग्गा अतिक्रमण गरी बसोबास गर्दै आएका व्यक्तिहरूले समय माग गर्दै पालिकामा निवेदन दिएका छन्। उक्त निवेदनपछि नगरपालिकाले अतिक्रमण हटाउने अभियानमा १० दिनको समय थप गरेको छ।

स्थानीय बासिन्दाहरूले नगरप्रमुख अजय थापासमक्ष समय माग गरेपछि १० दिनभित्र सम्बन्धित घरधनीहरूले स्वयं जग्गा खाली गर्ने सहमति भएको जनाइएको छ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार सार्वजनिक जग्गा, भवन तथा भौतिक पूर्वाधारको संरक्षण गर्ने जिम्मेवारी स्थानीय तहमा रहने भएकाले सोही कानुनी आधारमा अतिक्रमण हटाउने प्रक्रिया अघि बढाइएको नगरपालिकाले जनाएको छ।

नगरपालिकाका अनुसार कित्ता नं. ५४ (क्षेत्रफल ०–९–१–०) भित्र पर्ने सार्वजनिक जग्गामा निर्माण गरिएका संरचनाहरू हटाई १० दिनभित्र खाली गर्न सम्बन्धित पक्षलाई पुनः निर्देशन दिइएको छ। उक्त क्षेत्रमा विद्यालयको नाममा रहेको जग्गामा निजी घर निर्माण गरी भोगचलन हुँदै आएको पाइएको छ।
स्थानीय स्रोतका अनुसार तत्कालीन श्री ५ सरकारद्वारा विद्यालय प्रयोगका लागि उपलब्ध गराइएको उक्त जग्गा केही व्यक्तिहरूद्वारा कब्जा गरिएको अवस्था रहेको छ।

यससँगै नगरपालिकाले सार्वजनिक सम्पत्तिको संरक्षण र उचित उपयोग सुनिश्चित गर्न अतिक्रमण हटाउने अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने जनाएको छ।