विदेशी घामबाट स्वदेशी पानीसम्म:विष्णु हमालको उद्येमी यात्रा

दिपक खडका चन्द्रौटा, कपिलवस्तु ।
सामान्य आर्थिक अवस्थाबाट अघि बढ्दै आज चन्द्रौटामा ‘ग्यालेक्सी’ ब्रान्डको पिउने पानी उद्योगमार्फत चिनिएका विष्णु हमाल अब केवल व्यवसायी मात्र होइनन् उद्यमी युवाहरुका लागि प्रेरणाका स्रोत बनेका छन् ।
२०४१ साल वैशाख ७ गते चन्द्रौटामा जन्मिएका हमाल तीन भाइ एक बहिनीमध्येका जेठा सन्तान हुन्। कठिन बाल्यकाल बिताएका हमाल बाध्यताले २०६० सालतिर कतार पुगे। कतारको तातो बालुवामा उनले ६ वर्षसम्म मेहनत गरे तर विदेशी भूमिमा बाँकी जीवन बिताउने मन गरेन्न नेपाली माटोमै केही गर्न सकिन्छ भन्ने आत्मविश्वासले म फर्किएँको बताए ।
विदेशमा रहँदा उनले देखेको पिउने पानीको जार व्यवसायको सम्भावना बोकेर उनी नेपाल फर्किएको बताउदै चारजना साथीहरू मिलेर सुरु गरिएको उद्योग केही समयमै उनकै काँधमा आयो जब अरू साथीहरू विदेश पलायन भए र उनको लागि त्यो समय कठिन भयो । उनलाई धेरै रात निन्द्रै लागेन उनले सम्झिए ।
तर श्रीमती तारा मल्ल हमालको साथले उनलाई हिम्मत दिलायो। ताराले दुख गरौंला तर हजुरले आँट गरि बक्सियोस् भनेर दिएको हौसला उनको जीवन मोड्ने टर्निड.प्वाइन्ट बन्यो र बैंकबाट कर्जा लिएर उनले उद्योग आफ्नै नाममा दर्ता गराए ।
चन्द्रौटा नजिकैको शिवपुर हाइवे किनारमा रहेको उक्त उद्योग अहिले सफलतापूर्वक सञ्चालनमा छ। ‘ग्यालेक्सी’ ब्रान्डको पानी आज चन्द्रौटा क्षेत्रका अधिकांश होटल, कार्यालय, संघसंस्था र घर-घरमा पुर्याउन हमाल सफल भएका छन् ।
विष्णु हमाल भन्छन् कमाएको पैसाभन्दा पनि समाजले दिएको सम्मान नै मेरो ठूलो उपलब्धि हो। पहिले विष्णु भनेर बोलाउँथे अहिले विष्णु सर भन्छन्।
उनले हाल उद्योगमार्फत ५ जना आर्थिक रूपमा कमजोर व्यक्तिलाई रोजगार दिएका छन्। उनीहरूको घरमा चुलो बलिरहेको छ भने त्यो मेरो लागि सबभन्दा ठूलो खुसी हो हमाल गर्वका साथ भन्छन्।
उनले विभिन्न सार्वजनिक तथा सामाजिक कार्यक्रमहरूमा निःशुल्क पानी उपलब्ध गराउँदै आएका छन्। हालै उनले बर्फ उत्पादन तथा ब्याट्रीमा प्रयोग हुने डिस्टिल्ड वाटर उत्पादन सुरु गरेका छन्। निकट भविष्यमा निबु पानी बजारमा ल्याउने योजना बनाएको उनले सुनाए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


















