क्यासिनो विवादबाट सुरु भएको तनावले राजनीतिक रूप लियो
कपुरी,डेक्स ।
कपिलवस्तु, साउन १ – कपिलवस्तुको चन्द्रौटास्थित लुम्बिनी ग्रीन रिसोर्टको क्यासिनो प्रवेशलाई लिएर सुरु भएको विवाद अहिले राजनीतिक र कानुनी मुद्दामा परिणत भएको छ।
स्थानीय स्रोतका अनुसार करिब एक महिनाअघि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष रितेश शर्मासहित केही व्यक्ति लुम्बिनी ग्रीन रिसोर्टको क्यासिनोमा प्रवेश गर्न खोज्दा विवाद भएको थियो। नेपाली नागरिकलाई प्रवेश नदिने व्यवस्थापनको अडानपछि असन्तुष्टि बढेको र त्यसकै क्रममा असार २८ गते कृष्णनगरस्थित शाह कम्प्लेक्समा रहेको क्यासिनोको सम्पर्क कार्यालयमा पुगेर कर्मचारीलाई बाहिर निकाल्दै तालाबन्दी गरिएको आरोप छ।
उक्त घटनापछि शाह कम्प्लेक्सका सञ्चालक पक्षले रितेश शर्मासहित अन्य व्यक्तिविरुद्ध आपराधिक उपद्रवको उजुरी दिएको बताइएको छ। त्यसपछि केही युवा रितेश शर्माको घर पुगेका थिए। स्थानीयका अनुसार विवाद थप नबढोस् भन्ने उद्देश्यले छिमेकीसमेत रहेका प्रतिनिधिसभा सदस्य अभिषेक प्रताप शाह र कृष्णनगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह सम्झाउन त्यहाँ पुगेका थिए। तर त्यसपछि घटनाक्रम थप विवादमा परिणत भएको बताइन्छ।
पछि रितेश शर्माले सांसद शाह र मेयर शाहविरुद्ध ज्यान मार्ने उद्योगसम्बन्धी उजुरी दिएका थिए भने दुवै पक्षका उजुरीका आधारमा प्रहरीले अनुसन्धान अघि बढाएको छ। घटनापछि कृष्णनगर र बहादुरगञ्ज क्षेत्रमा बजार तथा यातायात सेवा प्रभावित भएको छ।
घटनाको वास्तविकता भने प्रहरी अनुसन्धान र अदालतको कानुनी प्रक्रियाबाट स्पष्ट हुने अपेक्षा गरिएको छ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर




















