चन्द्रौटा, कपिलवस्तु।
शिवराज नगरपालिकाले आर्थिक वर्ष २०८३/०८४ को नीति तथा कार्यक्रम अन्तर्गत खैरीतालको संरक्षण, विकास तथा पर्यटन प्रवर्द्धनका लागि ५० लाख रुपैयाँ विनियोजन गरेको छ।

नगरपालिकाले खैरीताललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न पूर्वाधार निर्माण, संरक्षण तथा सौन्दर्यीकरणका कार्य अघि बढाउने जनाएको छ। साथै, योजनालाई थप प्रभावकारी बनाउन संघीय सरकार र लुम्बिनी प्रदेश सरकारसँग थप बजेटका लागि पहल गर्ने नीति पनि लिएको छ।

नगर प्रमुख अजय थापाले खैरीताल शिवराज नगरपालिकाको महत्वपूर्ण प्राकृतिक सम्पदा भएकाले यसको समग्र विकासका लागि स्थानीय स्रोत मात्र पर्याप्त नहुने बताउनुभयो। उहाँले भन्नुभयो, “नगरपालिकाले ५० लाख रुपैयाँ विनियोजन गरेको छ। तर खैरीतालको दीर्घकालीन संरक्षण र समग्र विकासका लागि संघ र प्रदेश सरकारसँग थप बजेट माग गरी आवश्यक पूर्वाधार निर्माणलाई अगाडि बढाइनेछ।”

नगरपालिकाले खैरीतालको विकासबाट पर्यटन प्रवर्द्धन, स्थानीय आर्थिक गतिविधिमा वृद्धि तथा रोजगारीका अवसर सिर्जना हुने विश्वास व्यक्त गरेको छ।