कर्तव्य ज्यान मुद्दामा जन्मकैदको सजाय पाएर फरार रहेका एक प्रतिवादी २३ वर्षपछि पक्राउ परेका छन्।

शिवराज नगरपालिका वडा न -८ (साविक विसनपुर गाविसा-३) निवासी ६१ वर्षीय अतवारी कोरीलाई प्रहरीले बिसनपुरबाट पक्राउ गरेको हो। जिल्ला अदालत कपिलवस्तुले २०५७ साल असार १७ गते उनलाई कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो।

फैसलापछि फरार रहेका कोरीलाई हाल पक्राउ गरी अदालतको आदेशअनुसार कारागार चलान गरिएको प्रहरी निरीक्षक माधव विश्वकर्माले जानकारी दिए। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ।