शिवराज वडा न.२ मा बुद्ध पार्क निर्माण कार्य शुरु, नगरप्रमुख थापाबाट सिलान्यास

चन्द्रौटा, कपिलवस्तु ।
शिवराज नगरपालिका वडा नं. २, हल्लानगरमा १७ फिट अग्लो भगवान गौतम बुद्धको प्रतिमा तथा शान्ति पार्क निर्माण कार्यको औपचारिक शुरुवात गरिएको छ। नगरप्रमुख अजय थापाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा उक्त पार्क निर्माणको शिलान्यास गरिएको हो।
हल्लानगरका स्थानीयवासीहरूको सक्रिय पहलमा सुरही खोलानजिक निर्माण हुन लागेको यस पार्कले धार्मिक, सांस्कृतिक तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ। पार्क निर्माणका लागि कुमार तामाङले आफ्नो जग्गा निःशुल्क रूपमा उपलब्ध गराएका हुन्।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै हल्लानगर निवासी हिम कुमारी मिदुनले पार्क निर्माणले यस क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्ने बताउनुभयो। उपसमिति संयोजक खेमान सिंह दमाईले निर्माणको उद्देश्य र भावी योजना प्रस्तुत गर्दै पार्कमा ध्यान केन्द्र, हरियाली क्षेत्र तथा पानीको फोहरासहितका संरचना निर्माण गरिने जानकारी दिनुभयो। दमाईले निर्माण कार्यका लागि हल्लानगरका बासिन्दाले श्रमदान गर्ने र अन्य आवश्यक सहयोगका लागि सम्पूर्ण नेपाली समुदायसँग अपिल गरिने पनि बताउनुभयो।
सिलान्यास कार्यक्रममा पूर्व मेयर नेत्रराज अधिकारी, माओवादी केन्द्रका नगर अध्यक्ष चुरबहादुर खड्का, युवा नेता दिनेश पुन लगायत स्थानीय राजनीतिक दलका प्रतिनिधिहरू, समाजसेवी, बुद्ध धर्मावलम्बी तथा स्थानीय नागरिकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
नगरप्रमुख अजय थापाले आफ्नो सम्बोधनमा भगवान बुद्धको शिक्षालाई आत्मसात गर्दै शान्ति, सद्भाव र विकासतर्फ अगाडि बढ्न सबैलाई आग्रह गर्नुभयो। उहाँले शिवराज नगरपालिकालाई धार्मिक पर्यटनसँग जोड्ने योजनाका साथ विभिन्न स्थलहरू विकास भइरहेको बताउनु भयो।
थापाले खरेन्द्रपुरमा पृथ्वीनारायण शाहको शालिक, रुद्धपुरमा लक्ष्मण भगवानको मूर्ति तथा बालापुर मोडमा हनुमान भगवान र भगवान राम-सीताको मूर्ति निर्माणका लागि ठाँउ छनोट गरी धार्मिक सर्किटको रूपमा नगरलाई विकास गरिने बताउनु भयो । हल्लानगरमा निर्माण हुन लागेको शान्ति पार्कलाई नगरपालिका प्राथमिकतामा राखी आवश्यक बजेट विनियोजन गरिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर










