चन्द्रौटा,कपिलवस्तु । तीज मिलन कार्यक्रमका लागि छुट्याइएको बजेट विपत्तिमा परेका नागरिकको राहतमा खर्च गर्ने निर्णय गर्दै शिवराज नगरपालिका–४ ले मानवीयताको उदाहरण प्रस्तुत गरेको छ।

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपहिरोबाट ठूलो जनधनको क्षति भएपछि वडा कार्यालयले आर्थिक वर्ष २०८३/८४ अन्तर्गत तीज मिलन कार्यक्रमका लागि विनियोजित १ लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग गर्ने निर्णय गरेको हो।

वडा समितिको भाद्र ११ गते बसेको बैठकले उक्त रकम आवश्यक प्रक्रिया पूरा गरी शिवराज नगरपालिकामार्फत उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको वडा सचिव प्रकाश पोखरेलले जानकारी दिनुभयो।

वडा अध्यक्ष नसिम अहमद खाँले विपत्तिको समयमा उत्सवभन्दा पीडित नागरिकको दुःखमा साथ दिनु महत्वपूर्ण भएको बताउनुभयो। उहाँले भन्नुभयो, “तीजको खुसी एक वर्ष नमनाउँदा केही हुँदैन, तर विपत्तिमा परेका नागरिकलाई अहिले हाम्रो साथ र सहयोग आवश्यक छ। त्यसैले उत्सवका लागि छुट्याइएको बजेट पीडितको राहतमा लगाउने निर्णय गरेका हौँ।”

वडा कार्यालयले बाढीपहिरोमा परी ज्यान गुमाउनेप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै बेपत्ता नागरिकको शीघ्र खोजी, प्रभावितको निःशुल्क उपचार, सुरक्षित स्थानान्तरण तथा राहत वितरणलाई प्रभावकारी बनाउन सम्बन्धित निकायसँग आग्रहसमेत गरेको छ।

तीजको बजेट उत्सवमा होइन, विपत्तिमा परेकाको राहतमा—शिवराज–४ को यो निर्णयले ‘पहिले मानवीयता’ भन्ने सन्देश दिएको छ।