गर्भवती तथा सुत्केरी आमाहरूलाई झन्डा र अण्डा वितरण

कपिलवस्तु, चन्द्रौटा – शिवराज नगरपालिका-५ मा सुत्केरी तथा गर्भवती आमाहरूलाई स्वास्थ्य तथा पोषण प्रवर्द्धनका लागि घरघरमा झन्डा, सुत्केरी आमाको हातहातमा अण्डा अभियान संचालन गरिएको छ। अभियान अन्तर्गत वडाभित्र रहेका १५० जना गर्भवती र सुत्केरी महिलालाई एक-एक क्यारेट अण्डा र निलो झन्डा प्रदान गरिएको वडाध्यक्ष नेत्र प्रसाद बेल्बासेले जानकारी दिनुभयो।
वडामा नियमित गर्भजाँच गराउँदै आएका आमाहरूलाई लक्षित गर्दै पोषणयुक्त खाना उपलब्ध गराउने उद्देश्यसहित अण्डा वितरण गरिएको हो। साथै, प्रत्येक लाभग्राहीको घरमा राखिएको निलो झन्डाका आधारमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरूले सेवाग्राही पहिचान गर्न सहज हुने शिवराज आधारभुत स्वास्थ्य अस्पतालका इन्चार्ज बिरेन्द्र मिश्राले जानकारी दिनु भयो ।
अध्यक्ष बेल्बासेले यो अभियानले मातृ तथा शिशु स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गर्दै, घरमै सुरक्षित प्रसूति गराउने प्रवृत्तिमा पनि सुधार आउने अपेक्षा गरिएको जानकारी दिनुभयो।
शिवराज आधारभूत स्वास्थ्य अस्पतालका प्रमुख मिश्राले पोषणयुक्त परिकार स्वास्थ्य अवस्था अनुगमन तथा घरभेट कार्यक्रम सहज बनाउन यो अभियान प्रभावकारी हुने टिप्पणी गर्नुभयो।
कार्यक्रममा वडा सदस्य सीता रेग्मी, धनिराम थारु महिला स्वास्थ्य स्वयंसेविकाहरू लगायत स्थानीय जनप्रतिनिधि तथा समुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको सक्रिय सहभागिता रहेको थियो।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर










