चन्द्रौटा,कपिलवस्तु ।

चन्द्रौटा बजार अब कुरूप होइन, सुन्दर बन्दैछ। विगतमा अव्यवस्थित र धूलो-धुवाँले भरिएको चन्द्रौटा बजार यतिखेर हरियालीतर्फ उन्मुख हुँदैछ। शिवराज नगरपालिकाले चालू आर्थिक वर्षदेखि बजार क्षेत्रलाई व्यवस्थित, सुरक्षित र आकर्षक बनाउने अभियान थालनी गरेको छ।

यसै क्रममा सोमवार पूर्व-पश्चिम राजमार्गको डिभाइडर बीचमा मधुकामिनी, कल्की सिकोमा र करविरलगायतका दुई सयभन्दा बढी प्रजातिका फूलका विरुवा रोपिएका छन्।

नगर प्रमुख अजय थापाले चन्द्रौटा बजारलाई आधुनिक र स्वच्छ बजारका रूपमा विकास गर्ने लक्ष्यका साथ यो अभियान अघि बढाइएको बताउनुभयो ।

“बजार सुन्दर बनाउन सबैको साझा प्रयास आवश्यक छ” मेयर थापाले भन्नुभयो “हामी सबैले आ-आफ्नो ठाउँबाट योगदान गर्नुपर्छ।”

डिभाइडरमा राखिएका गमलामा चार किसिमका फूल रोपिएका छन् । जसले गर्मीमा फूलको रङ्गीनता र जाडोमा हरियाली प्रदान गर्नेछ। सौन्दर्यकरणसँगै चन्द्रौटा बजार क्षेत्रमा रुद्रपुर, धर्मनगर, शिवपुर, खरेन्द्रपुर हाटबजार लगायतका स्थानहरूमा हाइमास्ट बत्ती पनि जडान गरिने भएको छ।  रातको समयमा उज्यालो र सुरक्षालाई बढावा दिनेछ।

यस अभियानमा डिभिजन वन कार्यालय गौतमबुद्ध, डिभिजन सडक कार्यालय शिवपुर, वडा प्रहरी कार्यालय, मानव अधिकार प्रतिष्ठान, कपिलवस्तु होटल व्यवसायी संघलगायत सरोकारवाला निकायहरूको सक्रिय सहभागिता रहेको छ।