दिपक खड्का चन्द्रौटा,कपिलवस्तु ।

कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ७ मा जारी कपिलवस्तु प्रिमियर लिगको उद्घाटन समारोहमा लुम्बिनी प्रदेशका सभामुख तुलाराम धर्ति मगरले शिवराज नगरपालिकामा खेलाडीहरूका लागि आधुनिक क्रिकेट स्टेडियम निर्माणको आवश्यकता औंल्याउनु भयो । उहाँले स्थानीय सरकारले खेल मैदान निर्माणका लागि जग्गा उपलब्ध गराउने पहल गरे आफू पूर्णरुपमा सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो।

सभामुख धर्ति मगरले आफ्नो जन्मस्थान शिवराज नगरपालिका वडा नं. ९ शिवगढी भएको र एसएलसी तहसम्मको अध्ययन नेपाल आदर्श माध्यमिक विद्यालय, शिवपुरबाट सम्पन्न गरेको स्मरण गर्दे उहाँले भन्नुभयो मेरो जन्मस्थल शिवगढी भए पनि पार्टीको निर्देशनमा मैले राजनीति गर्ने थलो पाल्पा बनाए । त्यहाँबाट म माओवादी केन्द्रको तर्फबाट दुईपटक प्रदेश सभा सदस्यमा विजयी भएको छु ।

धर्तीमगरले कपिलवस्तु जिल्लाले उत्कृष्ट नेताहरू उत्पादन गरे पनि यो क्षेत्र विकासमा पछि परेकोमा चिन्ता व्यक्त गर्नुभयो । उहाँले कपिलवस्तु क्षेत्रबाट धेरै मन्त्री बने पनि समग्र विकासमा अपेक्षित सुधार नआएको बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व वनमन्त्री अर्जुन कुमार केसी, शिवराज नगरपालिकाका नगरप्रमुख अजय थापा, माओवादी केन्द्रका प्रभावशाली नेता दिनेश पुन, चुर बहादुर खड्का, कपिल खनाल लगायतको उपस्थिति रहेको थियो।

कपिलवस्तु प्रिमियर लिगका संयोजक राशिद मिर्जाले खेल १५ दिनसम्म सञ्चालन हुने जानकारी दिनुहुँदै सम्पूर्ण खेलप्रेमीहरूलाई प्रतियोगिता भर खेल अवलोकन गर्न आह्वान गर्नुभयो ।