शिवराज नगरपालिका वडा नम्बर ४ को समन्वय र छन्द (काले बाबु) नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा आज एकदिने निशुल्क आँखा शिविर सफलतापूर्वक सम्पन्न भएको छ।
शिविरमा ४०० जना सेवाग्राहीहरूले आँखा जाँच गराएका छन्। जाँचका क्रममा ३३ जना मोतियाबिन्दुका बिरामीलाई निशुल्क अपरेशन गर्नुपर्ने आवश्यकता रहेको पुष्टि भएको छ भने १०९ जनालाई चस्मा वितरण गरिएको छ।
मोतियाबिन्दुका बिरामीहरूको निशुल्क अपरेशन २२ गते सोमवार बिहान ७ बजे गरिनेछ। बिरामीहरूलाई समयमै अस्पतालमा उपस्थित हुने अनुरोध गरिएको छ।
शिविरको सफल आयोजनाले स्थानीयवासीहरूमा निकै सकारात्मक प्रभाव पारेको छ। स्वास्थ्य सेवाको पहुँचलाई नजिक ल्याउनका लागि शिवराज नगरपालिका वडा नम्बर ४ ले यस्तो कार्यक्रम आयोजना गरेकोमा सहभागीहरूले प्रशंसा व्यक्त गरेका छन्। शिविरमा अनुभवी स्वास्थ्यकर्मीहरूको टोलीले सेवा प्रदान गरेको थियो। शिवराज नगरपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
यस प्रकारका शिविरहरूले ग्रामीण क्षेत्रका सर्वसाधारणको स्वास्थ्य समस्यालाई समाधान गर्न ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।कार्यक्रमलाई सफल बनाउन सहयोग गर्ने सबै पक्षलाई वडा कार्यालयले धन्यवाद ज्ञापन गरेको छ। विशेष गरी छन्द (काले बाबु) नारायणी आँखा अस्पतालको प्राविधिक सहयोगप्रति वडा कार्यालयले आभार व्यक्त गरेको छ।
यस प्रकारका स्वास्थ्य शिविरहरूले समुदायलाई स्वास्थ्य सचेतना र सेवा प्रदान गर्न ठूलो सहयोग पुर्याएको छ। स्थानीयवासीहरूले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमको निरन्तरता हुने अपेक्षा गरेका छन्।