कपुरी डेक्स ।

शिवराज नगरपालिका वडा नं. १ मा निशुल्क आँखा जाँच शिविर सम्पन्न भएको छ। शिविर शिवराज नगरपालिका र छन्द कालेबावु नारायणी आँखा अस्पताल, बहादुरगञ्जको समन्वयमा सञ्चालन भएको हो।

शिविर उद्घाटन नगर प्रमुख अजय थापा, उपप्रमुख शिव कुमारी थारु, प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेल, नारायणी आँखा अस्पतालका प्रमुख प्रशासकिय जसराज विश्वकर्मा लगायत समाजसेवी, स्वास्थ्यकर्मी, र जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

शिविरमा ४०१ जनाले आँखा जाँच गराएका थिए, जसमा ९० जनालाई चश्मा वितरण गरिएको छ भने ४३ जनालाई अपरेशनको सिफारिस गरिएको वडा अध्यक्ष खिम विक्रम केसिले जानकारी दिनुभयो।

नगर प्रमुख अजय थापाले शिविरको महत्वमा जोड दिँदै यसलाई सबै वडाहरूमा निरन्तरता दिने कार्ययोजना रहेको बताउनु भयो । थापाले  नगरवासीहरूलाई यस्ता अवसरहरूको फाइदा उठाउन आग्रह समेत गर्नु गर्नुभयो।

शिविरले स्थानीय नागरिकहरूको आँखाको स्वास्थ्य समस्या पहिचान र उपचारमा सहजता प्रदान गरेको छ, जसले सामुदायिक स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।