भुटानका राजा जिग्मे खेसार नाम्ग्याल वाङचुक यही मंसिर २१ गते काठमाडौं आउने भएका छन्। उनी बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने र सोही दिन काठमाडौंबाट प्रस्थान गर्ने कार्यक्रम रहेको छ।
भारतको औपचारिक भ्रमणपछि केही घण्टाका लागि काठमाडौंमा रोकिने तयारीमा रहेका राजाको आगमनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ। नेपाली सेनाले उनको सुरक्षाका लागि विशेष अभ्यास पनि गरेको छ।
एक स्रोतका अनुसार राजा वाङचुकले काठमाडौंमा कसैलाई भेट्ने वा नभेट्ने विषय यकिन भएको छैन। तर, स्वयम्भू वा बौद्धनाथ दर्शन गर्ने सम्भावना रहेको बताइएको छ।
भुटानी राजाको भारत भ्रमण तालिका अनुसार, उनी बिहान ९:१० बजे दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिनेछन्। त्यसपछि ११:३० बजे भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट गर्नेछन्। यो भेटपछि उनले भारतीय विदेश मन्त्री एस जयशंकरसँग पनि वार्ता गर्ने कार्यक्रम छ।
भारत भ्रमण पूरा गरेपछि, शुक्रबार बिहान ८ बजे उनी भारतबाट प्रस्थान गर्ने र त्यसपछि केही समयका लागि काठमाडौंमा रहन सक्ने बताइएको छ।