दिपक खड्का,चन्द्रौटा कपिलवस्तु ।

सिद्धार्थ सामाजिक विकास केन्द्रले विपन्न किसानहरुलाई धुम्तिकोष रकम एक कार्यक्रम बिच कृषकहरुलाई हस्तान्तरण गरेको छ । सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको साझेदारीमा संचालित कार्यक्रम अन्तर्गत वडा न.४,१० र ११ नम्बरका ९ वटा कृषक समुहलाई रु ५० हजारको दरले ४ लाख ५० हजार हस्तान्तरण गरिएको कार्यक्रम संयोजक अजय चौधरीले जानकारी दिनु भयो ।

धुम्तिकोष हस्तान्तरण कार्यक्रममा शिवराज नगरपालिकाका कृषि विकास शाखाका प्रमुख तारा चन्द्र चौधरीले कृषि कार्यमा संस्थाको लगानी राम्रो संकेत भएको बताउनु भयो ।

शिवराज नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत बाबुराम पौडेलले धुम्तिकोषको सहि सदुप्रयोग र अनुगमन गरि उदेश्य अनुसारको काम गरे नगरेको संस्थाले निगरानी गर्नु पर्ने बताउनु भयो ।

शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापाले धुम्तिकोषले कृषकहरुलाई आफ्नो पेशालाई सुधार गर्ने र निरन्तरतामा सहयोग पुग्ने बताउनु भयो । थापाले नगरपालिकाले यस आर्थिक वर्ष देखि कक्षा ८,९ र १० कक्षामा अध्ययनरत  विद्यार्थीहरुले अध्ययन सहित रोजगारमा जोडिने अवसर सिर्जनाहुने बताउनु भयो ।

संस्थाले नारायणी कृषक समुह,मायादेवि कृषक समुह,कालिमाई कृषक समुह,प्रगतिशिल कृषक समुह,जनविकास कृषक समुह,वजरंगवली कृषक समुह र शुभ लक्ष्मी कृषक समुहलाई संस्थाले बिउ पुँजीका लागि लगानी उपलब्ध गराएको चौधरीले बताउनु भयो ।