राम अवतार चौधरी
कपिलवस्तु, ९ असार ।
कपिलवस्तुको शिवराज नगरपालिकाले एक अर्ब बढी बजेट ल्याएको छ । पालिकाले आईतबार १५औँ नगर सभामा नीति तथा कार्यक्रममा नगर प्रमुख अजय थापा र बजेट १ अर्ब २४ करोड ७९ लाख ५६ हजार बजेट ल्याएको उपप्रमुख शिवकुमारी थारुले प्रस्तुत गर्नुभएको हो ।
सभामा उपप्रमुख थारुले आगामी आर्थिक वर्षका लागि सो आय–व्यय प्रस्तुत गर्नुभएको हो । आगामी आर्थिक वर्ष २०८१÷८२ को लागि वडा स्तरीय योजनामा १० करोड, नगर स्तरीय योजनामा १० करोड, सामाजिक विकास तर्फ ५५ लाख, शिक्षा युवा खेलकुद तर्फ ८ करोड ३५ लाख,स्वास्थ्य शाखा तर्फ ३ करोड ५० लाख, कृषि विकास तर्फ १ करोड, पशु विकास तर्फ ५० लाख विनियोजन गरिएको छ । चालु वर्षको तुलनामा २ करोड २८ लाख कमी बजेट आएको छ । नगरभित्रका उद्यम गर्न चाहानेलाई ऋण उपलब्ध गराउने नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
नगर प्रमुख थापाले सार्वजनिक खर्चमा पारदर्शिता, मितव्ययिता र उत्तरदायित्व पालना गराउने बताउनुभयो । वित्तीय अनुशासन र सुशासन कायम गर्ने, नगरवासीको न्यूनतम आधारभूत आवश्यकताहरूको परिपूर्ति गर्ने, कृषिको व्यवसायीकरण र पर्यटन विकासलाई जोड दिने उहाँको भनाई छ । स्थानीय साधन श्रोत, सीप प्रयोग हुने एवं तत्काल रोजगारी सिर्जना गर्ने आयोजनाहरू समावेश गरेको थापाले बताउनुभयो । चालु वर्षका अधुरा आयोजनालाई सम्पन्न गर्न प्राथमिकतामा बजेट विनियोजन भएको उहाँले बताउनुभयो । नगरपालिकाभित्र यो आर्थिक वर्षमा ७.५ किमि सडक कालोपत्रे तथा मर्मत भएको नगरप्रमुख अजय थापाले बताउनुभयो ।
यो वर्ष नगरपालिकाभित्र कुल १७ किमि सडक ग्राभेल गरिएको छ । करिब २ करोड लागतमा जवइ सिंचाइ आयोजना निर्माणाधिन रहेको छ । १५ सैयाको शिवराज आधारभुत अस्पतालको लागि जग्गा प्राप्ति भइ निर्माणको चरणमा छ । नगरसभाले शिवराज नगरपालिका वडा ५ लाई सम्मान गरिएको छ भने उत्कृष्ट कर्मचारी लेखा अधिकृत,कृषि विकास अधिकृत, पशु विकास अधिकृतहरुलाई समेत सम्मान गरिएको छ । आगामी वर्ष २०८१÷८२ को वार्षिक नीति तथा कार्यक्रम मेयर रोजगार कार्यक्रम, पढ्दै कमाउँदै कार्यक्रम, उच्च शिक्षा अध्ययनरत विद्यार्थीलाई मेयर उपमेयर छात्रवृत्ति वितरण, नगरभित्रका चोकमा सिसिटिभी क्यामरा लगायतका कार्यक्रम समेत समावेश गरिएको नगरपालिकाले जनाएको छ ।