आर.ए.अन्जान
चन्द्रौटा, २८ पुस ।
कपिलवस्तुको शिवराज नगरपालिकामा माघी महोत्सव हुने भएको छ । तराईका थारु बाहुल्य भएको स्थानमा थारु समुदायमा मुख्य पर्व तथा थारु जतिको नयाँ बर्षकारुपमा महोत्सव शिवराजमा समेत मनाउने तयारी गरिएको छ । थारु जातिको अस्तित्व जोगाउन जिल्लाको शिवराज नगरपालिकामा समेत नगरस्तरीय महोत्सव हुने तयारी भइरहेको थारु कल्याणकारीणी सभाले जनाएको छ ।
“हम्मन संस्कृति हम्मनके सान, थारु संस्कृति बचएना हम्मन अभियान” भन्ने मूल नाराका साथ सञ्चालन हुने महोत्सवले थारु जातिको पहिचान जोगाउने मद्दत पुग्ने नगर सभापति प्रकाश थारुले बताए । थारु कल्याणकारीणी सभा शिवराज नगर समिति तथा शिवराज नगस्तरीय थारु संग्रहालय संरक्षण समितिको संयुक्त आयोजनामा हुने संग्रहायको उद्धघाटन तथा महोत्सव यहि माघ १, २ र ३ गते शिवराज वडा नम्बर–१, उमरीमा महोत्सव हुने उनले जानकारी दिए ।
महोत्सवमा थारु जातिको भाषा, कला, संस्कृति झल्किने विभिन्न सामग्रीको प्रदर्शनी र थारु खानाका परिकार स्टल रहने छन् । थारु जातिका विभिन्न नाच तथा झाँकीको प्रदर्शनी समेत गरिनेछ । महोत्सव अवधिभर थारु संस्कृति झल्कने झुमरा, झर्रा, बड्का नाच, लाठी नाच, मयूर नाच, सजनी विरहनी, रेकर्ड डान्स प्रतियोगिता हुने रहने जनाइएको छ । महोत्सवलाई थप मनोरञ्जनात्मक तथा आकर्षक बनाउन राष्ट्रिय तथा स्थानीय कलाकारको समेत बेजोड प्रस्तुति रहने सुरेश थारुले जनाए ।