विजयनगरमा लागू भएको नवप्रवद्धर्नवाट प्राप्त अनुदानको बिउ कमसल किसान निराश कर्मचारीले लगाए एक आर्कोलाई दोष
घनश्याम भर
(विजयनगर) कपिलवस्तु, १७ मंसिर ।
लामो समयदेखि तरकारी खेती गर्दै आएका किसान चन्द्रभान कोरीले यसपाली लगाएको काउली (फूलगोभी) समयमा नफुलेपछि निराश भएका छन् । ढाई कट्ठा जग्गामा रोपिएको बेमौसमी काउली नफुलेपछि उनी धेरै निराश भएका हुन् । उनलाई नवप्रवद्र्धन कार्यक्रमले अनुदानमा बेमौसमी काउलीको बिउ उपलब्ध गराएको थियो ।
कपिलवस्तुको विजयनगर गाउँपालिकाको वडा नम्बर ५ डालपुर–नयाँबस्तीका कृषक चन्द्रभान कोरीले व्यावसायिक खेतीका लागि काउली लगाएका थिए । तर उनले लगाएको ढाई कट्ठा जग्गामा काउली ५ महिना भन्दा बढी समय भए पनि काउली नफुलेको पाइएको छ । लामो समयसम्म काउली खेतमा नफुलेको देख्दा उनलाई साह्रै चिन्ता थपिएको छ ।
कृषक चन्द्रभान कोरीले विजयनगर गाउँपालिकामा लागु भएको नवप्रवद्र्धन कार्यक्रमले उपलब्ध गराएको काउलीको बिउ गत साउनको १५ गते नै रोपेको बताए । उनले ढाई महिनामा काउली बिक्रीका लागि योग्य हुनुपर्ने भए पनि ५ महिना भन्दा बढी भयो तर काउली नफुलेको भन्दै चिन्ता व्यक्त गरे । उनले काउलीको पातैपातले खेतभरि ढाकिएको बताउँदै यस पटक नसोचेको भन्दा बढी लगानी डुबेकोे बताए ।
अघिल्ला वर्षहरुमा राम्रोसँग फुल्दा एउटै बोटबाट एक किलोग्रामसम्म फुल्ने गरेको उहाँको भनाई छ । काउली नफूलेपछि पटक–पटक गाउँपालिका धाई रहँदा पनि शुक्लाले कुनै कदम नचालेको पिडित कोरीको गुनासो छ । उनले १ लाख ५० हजार मुल्य बढीको काउलीको क्षति भएको बताए ।
गाउँपालिकामा सञ्चालित नवप्रवद्र्धन कार्यक्रमकी संयोजक कमला शुक्लासँग यस विषयमा बुझ्दा सन्तोषजनक जवाफ आएन । उनले गाउँपालिकामा कति जना कृषकलाई, कुन कम्पनी, कुन जातको बिउ, कति परिणाम ? वितरण गरिएको यकिन तथ्याङ्क थाहा नभएको सजिलै जवाफ दिइन् । कार्यक्रमका लागि खटिएका कृषि प्राविधिक राजेन्द्र यादवको लापरवाहीका कारण काउली खेतीमा क्षति भएको आरोप लगाइन् ।
उनले कृषि कार्यक्रमका लागि २४ लाख रहेको बताइन् तर बिउबिजन तथा तरकारी खेतीको लागि कति हो ? प्रश्न गर्दा आफै कार्यक्रम संयोजक रहेकी शुक्लाले थाहा नभएको बताइन् । उनले गत असार मसान्तमै नै कार्यक्रम सकिएकाले अहिले थप अनुदानको सहयोग दिन सक्ने अवस्थामा नरहेको बताइन् ।
यता कृषि प्राविधिक राजेन्द्र यादवले बेमौसमी काउली लगाउन बिहारी जातको बिउ उपलब्ध गराएको बताएका छन् । काउली नफूलेपछि एकले अर्कालाई आरोपप्रत्यारोप लगाएर उम्किन खोजिरहेका छन् । शुक्लाले प्राविधिक यादवलाई र यादवले संयोजक शुक्लालाई आरोप लगाउने गरेका छन् । के कारणले काउली फुलेको होइन भन्ने सन्दर्भमा तापक्रम नमिलेर हुन सक्ने यादवले बताए । उनले पनि गाउँपालिकामा कति जना कृषकलाई, कति बिउ, कति परिणाम ? वितरण गरिएको यकिन तथ्याङ्क थाहा नभएको जवाफ फर्काए ।
गाउँपालिकाका कृषि शाखा प्रमुख राम सुन्दर मालीले नेपाल सरकारले स्विकृत गरेको बिउ लगाउनुपर्नेमा अन्य कुनै जातको बिउ उपलब्ध गराई साउन, भदौँ महिनामा लगाएको हुँदा यस्तो समस्या भएको बताए । कृषि प्राविधिक शाखासँग थप विषयमा बुझ्न खोज्दा हामीसँग कुनै समन्वय नभएको उनले बताए । एकलौटी ढङ्गले कार्यक्रम सञ्चालन गर्दा समस्या सिर्जना भएको उनको भनाई छ । मालीका अनुसार गाउँपालिकाको कृषि प्राविधिक टोलीले अनुगमन गर्दा १ लाख २० हजार बढीको काउली नोक्सान भएको छ ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर























